काठमाडौं
नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन् ।
मजदुर संगठनमा आबद्ध केही नेताको स्वार्थका कारण मजदुरको अधिकार माथि नै बन्देज लगाउने सहमति गरेपछि मजदुर संगठनमा विवाद चुलिएको छ । मजदुरको हकहितका लागि खुलेका संगठनका केही नेताले होटल तथा क्यासिनो सञ्चालकको प्रलोभनमा परेर मजदुर विरोधी सम्झौता गरेको आरोप सम्झौता गर्नेहरु माथि लागेको छ ।
गत जेठ १८ गते देखि लागू हुने गरी मजदुर नेता र होटल सञ्चालकको बीच मजदुर अधिकारलाई असर हुने गरी सम्झौता भएको पाइएको हो । मजदुर नेता र होटल सञ्चालकबीच भएको १९ बुँदे सम्झौता मजदुरकै लागि घातक रहेको भन्दै मजदुरले असन्तुष्टि जनाएका छन् ।
नेपाल होटल संघ हान, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट युनियन, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच मजदुरले आगामी दिनमा आन्दोलन गर्न र कुनै पनि माग राख्न नपाउने सम्झौता भएको हो ।
पूर्व एमाले निकट जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मजदुरको हकहितलाई नै ध्यानमा राखेर सम्झौता गरिएको दाबी गरे । उनले भने– ‘नियम कानुन अनुसार नै सम्झौता गरिएको छ, यो सम्झौता मजदुरकै हितमा छ ।’
यता नेपाल टेड्र युनियनका अध्यक्ष पुष्कर आचार्यले मजदुरको हित विपरीत भएको सम्झौता आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् । उनले भने– ‘मजदुरको हकहित विपरीत हुने सम्झौता हामीलाई मान्य छैन, मजदुरको वैधानिक अधिकार खोस्ने निर्णय हामी मान्दैनौ ।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया