–ध्यान आशिष
हाम्रो पूर्वीय परम्परामा सन्यास एक अत्यन्त आदरणिय कुरा रहँदै आएको थियो। विशेष गरी इन्डिया, नेपाल, भुटान, तिब्बत, थाइल्याण्ड, बर्मा लगायत प्रायः सबै एसियाली मुलुकहरुमा मान्छेहरु संसारिक जीवनबाट वैराग्य अनुभव गरी कुनै धार्मिक परम्परामा दिक्षित भई धार्मिक आचरण अनुशरण गरी भौतिक संसारबाट टाढा गई धार्मिक जिवन अपनाउने प्रचलनलाई सन्यास जीवन भनिँदै आएको थियो।
विभिन्न धार्मिक संस्थाहरुमा आ-आफ्नै पद्धति अनुसार सन्यासका नियमहरु र आचरणहरु छन्। सनातन संस्कृतिमा दश हजार वर्ष भन्दा अगाडी देखि सन्यासको परम्परा शुरु भएको मानिन्छ। सन्यासको परम्परालाई भगवान गौतम बुद्धले ब्रम्हचर्य सहित विभिन्न शिलहरु अनुसरण गराउदै सन्यासलाई अत्यन्त ब्यापक बनाउनु भयो। त्यसपछि हिन्दु परम्पराको सन्यास कमजोर भयो र आदि शंकराचार्यले हिन्दु संस्कृतिमा बौद्ध संस्कृति जस्तै हिन्दु परम्पराको सन्यासलाई ब्यापक बनाउनु भयो। त्यसपछि संसारका सबै धर्म परम्परामा विभिन्न नियमहरु पालना गरी सन्यासी बन्नुपर्ने प्रचलन विकसित हुँदै गयो।
फेरि अर्कोतिर भौतिक दुनियाँमा भने सन्यासप्रति नकरात्मक धारणा ब्यापक हुँदै गयो। सन्यासीले घर, परिवार, पेशा, ब्यवसाय, सम्बन्धहरु छोडेर ध्यान र साधनामात्र गरि बस्नुपर्ने र एक पटक सन्यास लिएपछि फेरि संसारमा फर्कन नपाउने इत्यादि नियमले गर्दा भौतिक दुनिया सन्यास परम्पराप्रति भयवित हुँदै गयो।
यसै पृष्ठभूमिमा ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेश राज्यको कुछवाडा भन्ने गाँउमा रजनिश चन्द्र मोहन जैनको जन्म भयो। उहाँले २१ मार्च १९५३ मा जवलपुरको भंबरताल पार्कमा रहेको मौलश्री बृक्षको फेदमा सम्बोधी प्राप्त गर्नु भई अध्यात्ममा नयाँ आयामको कोशेढुंगा बन्नुभयो। त्यसपछि उहाँले १९६० पछाडी भारतभरी घुमिघुमि आध्यात्मिक प्रवचन र ध्यान शिविरहरु लिन थाल्नुभयो। उहाँले धर्ममा रहेको कुरीति, कुसंस्कार तथा पाखण्डको भण्डाफोर गर्दै अहिलेसम्म चल्दै आएको सन्यास परम्पराको कठोर आलोचना गर्न थाल्नुभयो। विभिन्न धर्मका पण्डित, पुरोहित, पोप, पादरीहरुको पाखण्डको तिब्र आलोचना गर्दै धर्ममा विज्ञानलाई अनुशरण गर्नुपर्ने कुरामा जोड दिनुभयो।
यसै पृष्ठभूमिमा २६ सेप्टेम्बर १९७० मा भारतको हिमाञ्चल प्रदेश मनालिमा त्यस ताका आचार्य रजनिशको रुपमा भारतमा उदायका ओशोद्वारा सञ्चालित ध्यान शिविरमा कृष्ण ‘मेरे दृष्टिमे’ शीर्षकमा कृष्णमाथि प्रवचन दिँदै गर्दा अनायास उहाँले नवसन्यास दिक्षा दिन प्रारम्भ गर्नुभयो। मनालीको उक्त ध्यान शिविरमा १० जना साधक साधिकाहरुले ओशोबाट नवसन्यास दिक्षा लिए। मा. आनन्द मधु विश्व नवसन्यासमा ओशोबाट दिक्षित पहिलो ओशो सन्यासी हुन् । उक्त ध्यान शिविरमा मा. योग लक्ष्मी, मा. धर्म ज्योति, स्वामी योग चिन्मय लगायत दश जना साधनाका प्यासी मुमुक्षहरुले नव सन्यास दिक्षा लिएका थिए।
उक्त ध्यान शिविरमा नेपालका ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुणलाई पनि निमन्त्रणा गरिएको थियो तर उहाँ आफ्नो इन्जिनियरिङको पढाइको कारण त्यहाँ जान सक्नु भएन। पछि ११ अक्टोवर १९७४ मा. श्री रजनिश आश्रम पुनामा स्वामी आनन्द अरुणले ओशोको नवसन्यास दिक्षा ग्रहण गरि विश्वमा ओशोको देशना र नव सन्यासलाई ब्यापक रुपमा प्रचार गरिरहनु भएको छ । त्यसैले २६ सेप्टेम्बरमा विश्व भर ओशो कम्युन र ओशो ध्यान केन्द्रहरुमा विशेष हर्षो उल्लासका साथ नवसन्यास दिवस मनाउन थालिएको छ।
ओशोको नवसन्यासमा आध्यात्मीक साधना गर्दा घर, परिवार, पेशा ब्यवसाय, जागिर नछोडिकन अझ भौतिक संसारमा कुशल, होशपुर्ण र शान्त मनस्थितीका साथ रहि ध्यान र साधना गर्ने गरिन्छ । ओशोले स्त्री र पुरुष बिचको आकर्षण स्वभाविक हो भन्दै साधकले पत्नी छोडि एकान्त जंगल र गुफाहरुमा गई ब्रम्हचारी भइ साधना गर्न आवश्यक छैन र घर परिवारमै बसेर ध्यान साधना गरि सन्यास जीवन जिउन सकिन्छ भन्ने नवसन्यासको धारणा ल्याउनु भयो।ओशोको नवसन्यास विश्व अध्यात्मिक इतिहासमा नयाँ अभियानको शुरुवात हो । ओशोको देशनामा अहिलेसम्म धर्ममा रहँदै आएको यो खाने, यो नखाने, यो गर्ने, यो नगर्ने भन्ने विविध कथित नियमहरु छैनन्। उहाँले पहिलो पटक संसारमा धर्म र अध्यात्मलाई कथित नियम र शिलहरुबाट मुक्त गर्नुभयो। उहाँले २१औँ शताब्दी अनुकूल अध्यात्मको पुर्नब्याख्या गर्नुभयो।
उहाँले विज्ञान र प्रविधिको भरपुर उपयोग गरि संसारबाट गरिबि हटाउनु पर्दछ भन्नु भई अध्यात्मको विज्ञान र प्रविधि प्रति मित्रवत सम्बन्ध स्थापित गर्न जोड दिनुभयो। उहाँले जोर्वा दि बुद्धको दर्शन संसारमा ल्याउनु भयो। यसको मतलब कजानजकिसको प्रख्यात उपन्यास जोर्वा दि ग्रिकको पात्र जोर्वा जस्तै भौतिक समृद्धिको उपयोग गरि उल्लास पूर्ण जीवन जिउने र बुद्ध जस्तै ध्यान र समाधीको चरम उचाई अनुभव गर्ने दर्शन यो मनुष्यतालाई दिनु भयो।
ओशोले नवसन्यास सँगै यस धर्तीमा पहिलो पटक सक्रिय ध्यानको आविष्कार गर्नुभयो।उहाले सक्रिय ध्यान, निस्क्रिय ध्यान सहित ६०० भन्दा बढी ध्यान बिधिहरु मनुश्यतालाई दिनुभएको छ । उहाँले ध्यानमा प्राणायाम, नृत्य, रेचन, संगित इत्यादि जोड्दै सक्रिय ध्यान साधकहरुलाई गराउनु भयो र ध्यानको अन्तिम चरणमा चरम शान्तिको अनुभव गराउन थाल्नुभयो। अहिले ओशो आश्रमहरुमा ओशोद्वारा प्रतिपादित डाइनामिक मेडिटेशन, कुण्डलिनी ध्यान, नटराज ध्यान लगायत सक्रिय ध्यानहरु र उहाद्वारा प्रतिपादित निष्क्रिय ध्यान बिधिहरु जस्तै नाद्ब्रम्ह ध्यान, आनापाना सतियोग ध्यान इत्यादि गराइ साधकहरुलाई चरम शान्तिको अनुभव गराइन्छ।
ओशो तपोवन लगायत नेपालका १४० भन्दा बढि ओशो ध्यान केन्द्रहरुमा ओशोको ध्यान शिविरहरुमा सक्रिय ध्यान लगायत विविध ध्यानका प्रयोगहरु भईरहेको छन्।अहिले ओशोको अन्तराष्ट्रिय केन्द्र ओशो तपोबनमा साझपख बिभिन्न बुद्धपुरुषहरुको आरति पनि दैनिक रुपमा गरिन्छ जुन अहिले नेपालमा अत्यन्त लोकप्रिय हुँदै आएको छ ।
ओशो तपोवनका संस्थापक गुरु स्वामी आनन्द अरुणले ओशोलाई यो युगका एक अनौठा र अद्वितिय बुद्धपुरुष भन्नुहुन्छ । उहाँले विश्वभर एक लाख तिस हजार भन्दा बढि साधकहरुलाई ओशोको नवसन्यासमा दिक्षित गरिसक्नु भएको छ । स्वामी आनन्द अरुणको भारत र विश्वका प्रख्यात गुरुहरु जस्तै सदगुरु जग्गी बासुदेब, बिरोचन रिम्पोचे, दलाई लामा, बागेश्वर बाबा, मोरारी बापु इत्यादी सम्मानित गुरुहरुसँग अत्यन्त सुमधुर सम्बन्ध रहँदै आएको छ । उहाँ तपोवन जाने सबै व्यक्तिहरुलाई अत्यन्त प्रेम गर्नुहुन्छ । अन्त्यमा यस पुनित अवसर, २६ सेप्टेम्बर विश्व नवसन्यास दिवसको उपलक्ष्यमा महान गुरु ओशोप्रति हार्दिक नमन । विश्व नवसन्यास दिवसको उपलक्ष्यमा सबै साधनाका मुमुक्षहरु प्रति हार्दिक शुभकामना।
जय ओशो ! जय भगवान !!
(लेखक आशिष ओशो सन्यासी हुन्)































प्रतिक्रिया