काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको सुरक्षा र पुनर्निर्माणका लागि ठोस कदम चालेको छ ।
असोज ९ गते गोदावरी नगरपालिकामा सम्पन्न बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनी प्रति घोर निन्दा जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा भएको हिंसात्मक गतिविधि जेनजी पुस्ताको असली उद्देश्य नभएको ठहर गर्दै यसमार्फत लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र सार्वभौमसत्तामा आँच पु-याउने प्रयास भएको उल्लेख गरेको छ । यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाहीको माग गर्दै वर्तमान सरकारलाई फोरमले कडा सन्देश दिएको छ ।
सिंहदरबारको पुनर्निर्माणका लागि मेयर्स फोरमले ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रुपैयाँ उपत्यका प्रहरी कार्यालयलाई प्रदान गरिने र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने फोरमले जनाएको छ ।
फोरमले आन्दोलनको क्रममा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, संवैधानिक शासन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताको मागप्रति ऐक्यवद्धता जनाएको छ ।































प्रतिक्रिया