दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा इन्डोस्कोपी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त उपकरण जडान गरी परीक्षण सफल भएपछि केही दिनयता सेवा प्रवाह भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा राम श्रेष्ठले जानकारी दिए।
मणिपाल शिक्षण अस्पताल पोखराका ग्याष्ट्रोलोजिष्ट डा शङ्कर बराल र केन्द्रका जनरल सर्जन डा सविनकुमार घिमिरेको समूहले बिरामीको परीक्षण गरी सेवा सञ्चालनमा ल्याएका हुन्। अब नियमित रूपमा उक्त सेवा सञ्चालन गरिने निर्देशक डा श्रेष्ठले जानकारी दिए । उनले भने, “यो सेवा नहुँदा यस भेगका जनता पोखरा जानुपर्ने बाध्यता थियो । अब पेटसम्बन्धी समस्याको उपचार यहीँ बाट प्रदान हुनेछ ।”
केन्द्रमा अन्य सेवा थप गर्दै लैजाने रणनीतिअनुसार गत भदौ १० गतेदेखि विद्युतीय चिकित्सा प्रणाली समेत सुरु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु भएपछि टिकट, बिलिङ, रिपोर्ट, औषधिलगायत विवरण अनलाइन प्रणालीमार्फत् जानकारी लिन सहज भइरहेको डा श्रेष्ठले बताए । उनले भने,“अब बिरामीको विगतदेखि वर्तमानसम्मका सबै विवरण सजिलै हेर्न सकिनेछ । एक्सरे रिपोर्ट प्रिन्ट गर्नुपर्दैन । एक्सरे र प्रयोगशालाको रिपोर्ट सिधै चिकित्सकले हेर्न पाउँछन् ।”





























प्रतिक्रिया