ट्रम्पले लगाए ब्रान्डेड औषधिमा १०० प्रतिशत भन्सार

ट्रम्पले लगाए ब्रान्डेड औषधिमा १०० प्रतिशत भन्सार

केन्द्रबिन्दु
12
Shares

एजेन्सी,काठमाडौँ । अमेरिकामा कारखाना नबनाउने कम्पनीका ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिको आयातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले १०० प्रतिशत भन्सार महसुल लगाएका छन्।
ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा बिहीबार पोस्ट गर्दै कुनै पनि कम्पनीले अमेरिकामा आफ्नो औषधि उत्पादन कारखाना नबनाए १ अक्टोबर २०२५ देखि हामी कुनै पनि ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिजन्य उत्पादनहरूमा १०० प्रतिशत भन्सार लगाउनेछौं, घोषणा गरेका हुन्।

अमेरिकामा कारखानाको शिलान्यास गरिसकेका वा निर्माणाधीन कम्पनीका उत्पादनमा भने यस्तो भन्सार नलाग्ने उनले खुलासा गरेका छन्। जेनेरिक (रसायनिक नामले बेचिने) औषधिका हकमा पनि यो लागू हुने छैन। जेनेरिक औषधि ब्रान्डेड र पेटेन्ट भएका औषधिका तुलनामा धेरै सस्ता हुन्छन्।

अमेरिकाले आयात गर्ने औषधिहरूको ठूलो हिस्सा जेनेरिक औषधिले ओगट्छ। अमेरिकामा बेचिने लगभग ९० प्रतिशत औषधिहरूको जेनेरिक हुन्छन् भनेर द फाइनान्सियल टाइम्सले लेखेको छ। ट्रम्पले घोषणा गरेको भन्सार महसुल जेनेरिक औषधिलाई नलाग्ने भएकाले निर्माता कम्पनीहरूका लागि राहत भएको छ। अमेरिकामा आयात हुने जेनेरिक औषधि मुख्यतः भारतमा बन्छन्।

ट्रम्पले अप्रिलमा घोषणा गरेको पारस्परिक भन्सारमा औषधि उद्योगलाई छुट दिएका थिए। तर त्यसपछि युरोपियन युनियन र धेरै देशसँग अमेरिकाले बेग्लाबेग्लै गरेको व्यापार सम्झौतामा भने औषधिमा पनि भन्सार लगाइएको थियो। अमेरिकामा बिक्री हुने महँगा ब्रान्डेड र पेटेन्ट वाला औषधि बनाउने मुख्य निर्माता कम्पनीहरूले ट्रम्पलाई खुसी पार्न यसअघि नै अमेरिकामा कारखाना खोल्ने घोषणा गरिसकेका छन्।

लन्डनमा सूचीकृत एस्ट्राजेनेका र जीएसके, अनि स्विस नोभार्टिस र रश लगायत ठूला औषधि निर्माताहरूले पछिल्ला महिनामा अमेरिकामा लगानी गर्ने घोषणा छन्। केहीले कारखाना निर्माण गर्न थालेका पनि छन्। कारखानाको शिलान्यास नभएका कम्पनीका उत्पादनमा भने ट्रम्पले घोषणा गरेको भन्सार लागु हुनेछ।

Skip This
Skip This
Logo