यात्रामा निस्कन कसलाई मन नलाग्ला र ? तर यात्रामा निस्कदा पहिलो कुरा भनेकै पैसाको आउने गर्छ । पैसाकै कारण कतिपयले चाहेको स्थानमा जान पनि सकिरहेका हुदैनन् ।
यात्रामा निस्कदा के पर्छ भनेर जो कोहीले पनि चाहिने भन्दा बढी पैसा बोक्ने चलन पनि रहेको छ । बढी पैसा बोक्नु त राम्रो हो । तर यात्रा गर्दा बोकेको जति सबै रकम खर्च गर्नुचाहि बेवकुफी पनि हो । त्यसैले यात्रा गर्दा हामीले सामान्य सावधानीहरुलाई अपनायौ भने सोचेको बजेट भन्दा निकै कम बजेटमा पनि नयाँ स्थानको यात्रा गर्न सक्छौं ।
होटेल बुकिङमा ध्यान दिऔं
कुनै नयाँ गन्तब्यमा जादैं हुनुहुन्छ भने पहिला नै होटेलको बुकिङ गर्नु बुद्धिमानी हुन्छ । यसरी बुकिङ गर्दा एक्ले हुनु हुन्छ भने सकभर सिंगल बेड भएको कोठाको बुकिङ गर्नुपर्छ । यसरी कोठा बुक गर्दा कतिपय होटेलले खाना, यातायात, इन्टरनेट र अन्य विभिन्न बिषयमा पनि शुल्क लिने गर्छन् । यस्तो अवस्थामा पहिलै जानकारी लिनु भयो भने तपाईको खर्च निकै कम हुन जान्छ । जस्तो सिंगल बेड कुनै होटेलमा महंगो हुन्छ भने डबल बेड अर्को होटेलमा सस्तो पनि हुन सक्छ । त्यसैले आफु जाने स्थानको दुई तिन वटा होटेलको शुल्क बुझेर बुकिङ गर्दा केही पैसा जोगाउन सकिन्छ ।
आफु बस्ने होटेलवाट घुम्ने स्थान कति टाढा छ त्यो कुराको पनि ध्यान दिनु पर्छ । होटेल सस्तो भएर घुम्ने ठाउँ टाढा छ भने अतिरिक्त यातायातको आवश्यक्ता पर्दा बजेट बढ्न जान्छ । त्यसैले आफु घुम्ने स्थान वरिपरि रहेको होटेल बुकिङ गर्दा हिडेर पनि पुग्न सकिन्छ भने यात्रा अझ रमाईलो हुन जान्छ ।
कतिपय होटेलले यातायातको पनि ब्यवस्था गरेका हुन्छन् । यस्ता यातायात आरामदायि त हुन्छन् तर शुल्कका हिसावले महंगा पनि हुन्छन् । त्यसैले यस्तो अवस्थामा म्याप बोकेर हिड्ने वा सार्वजनिक यातायातको प्रयोग गर्नु पैसा बचतको हिसावले राम्रो हुन्छ ।
कुनै कुनै गन्तब्य सिजनमा अत्याधिक यात्रुहरुको चापको कारण महंगो हुने गर्छ । त्यसैले पैसा बचत गरेर घुम्नु छ भने अफ सिजनमा जानु राम्रो हुन्छ । अफ सिजनमा होटेलहरुले पनि आफ्नो शुल्कमा ब्यापक कटौती गरिरहेका हुन्छन् ।
यात्रा गर्दा दिउँसोको बस चढेर जानु भन्दा रात्री सेवा रहेको अवस्थामा रात्री सेवा छान्नु पैसाको दृष्टिकोणले राम्रो हुन्छ । रात्री सेवा प्रयोग गर्दा तपाईले राती सुत्नको लागि होटेलमा गर्ने खर्च बचत हुन्छ । यो वाहेक तपाई कुनै गन्तब्यमा रात्री सेवावाट पुग्नु भयो भने बिहान देखि साँझसम्म घुम्ने प्रशस्त समय पाउनु हुनेछ । सोही स्थानमा तपाई दिवा सेवावाट जानु भयो भने राती पुग्नु हुने छ र राती होटेलमा बसेर भोलिपल्ट मात्र घुम्न पाउनु हुने छ ।
कुनै नयाँ स्थानमा घुम्न जाँदै हुनुहुन्छ भने त्यहाँको म्याप पनि साथै लैजाने गर्नुपर्छ । म्याप बोक्नाले तपाईलाई घुम्ने स्थानको बाटोघाटोको जानकारी हुन्छ भने यातायातमा ठगिने सम्भावना पनि कम रहन्छ । यस्तो स्थानमा यातायात चढ्नु पर्छ नै भने सकभर सार्वजनिक यातायातको प्रयोग गर्नु राम्रो हुन्छ ।





























प्रतिक्रिया