उत्खनन् हुन सकेन पर्वतको फलामखानी, अनुसन्धानका लागि बल्ल खानीसम्म पुग्ने पैदलमार्ग निर्माण

उत्खनन् हुन सकेन पर्वतको फलामखानी, अनुसन्धानका लागि बल्ल खानीसम्म पुग्ने पैदलमार्ग निर्माण

केन्द्रबिन्दु
51
Shares

पर्वत। महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ ।

निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म लैजान सहज होस् भनेर व्यवस्थित पदमार्ग निर्माण गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले नियुक्त गरेका श्रमिक लगाएर पदमार्ग निर्माण गरिएको वडा नंं ६ का अध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए।

अध्यक्ष विकका अनुसार खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् सन्तोष घिमिरेको टोलीले आउने तयारी गरेको छ । यहाँ रहेका मुख्य खानी रनेमने, बूढीखानी र धाउखानीसम्म जाने बाटो सम्पन्न भएको हो । यसैवर्ष पदमार्ग निर्माण गरिएको विकले जानकारी दिएका हुन् ।

पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएकोे फलामखानी उत्खनन् हुने आशा स्थानीयले मारेका छैनन् । बन्द भएको ७५ वर्ष लामो अवधिसम्म पनि राज्यका कुनै पनि निकायले फलामखानी सञ्चालनका लागि सरकारले चासो यस क्षेत्रका नागरिकमा उत्साह जागेको छ ।

विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन् गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो । भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) का माध्यमबाट अध्ययन गर्दा प्रसस्त फलाम रहेको प्रमाण भेटिएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो ।

फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । स्थानीयले पटकपटक फलामखानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् ।

धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको वडाध्यक्ष विकले बताए।

उक्त फलामखानी सदरमुकाम कुश्मा बजारबाट ३५ किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलामखानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्भेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् । खानी सञ्चालनमा आएको खण्डमा रोजगारी र आर्थिक उपार्जनमा जिल्ला मात्र होइन देश लाई नै ठूलो आर्थिक टेवा पुग्ने छ । त्यहाँ रहेका खानी मध्य ठूली खानी, माईली खानी, सानी खानी लगायतका खानीहरु उत्खनन्को पर्खाइमा रहेका छन् ।

फलामखानीको उत्खननमा स्थानियहरुले धेरै पहिले देखी संवन्धित निकाय लाई सञ्चालनमा ल्याउन आग्रह गरिरहे पनि त्यति चासो नभएको स्थानिय युवा समाजसेवी ठाकुर रसाईली बताउँछन् ।

खानी सञ्चालनमा ल्याउन संवन्धित निकाय लाई दवाब दिन र फलामखानीको पर्यटन पर्वद्धन विकासमा टेवा पु-याउने उद्देश्यले केही समय अगाडी नेपाल पत्रकार महासंघ पर्वतको टोलीले खानीको अध्ययन सहित रिर्पोटिङमा उत्रिएको थियो ।

Logo