कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको स्थलगत अनुगमन गरेका छन्।
उनले आज अनुगमनका क्रममा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट आवश्यक बजेट छुट्याउन पहल गर्ने बताए ।
आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको उल्लेख गर्दै उनले स्थानीय सरकारलाई शीघ्र राहत र पुनर्निर्माणमा आवश्यक सहयोग पु-याउने व्यवस्था मिलाउन पहल गर्ने बताए।
मुख्यमन्त्री शाहले आन्दोलनबाट पुगेको क्षतिको मूल्याङ्कन गरी तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा सङ्घ तथा प्रदेश सरकारले चासो जानुपर्ने बताए । जेनजी आन्दोलनका क्रममा नगरपालिकामा भएको आगजनी र तोडफोडबाट उत्पन्न चुनौतीलाई समाधान गर्दै पुनर्निर्माणको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारीमा नगरपालिकाले ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले मुख्यमन्त्री शाहलाई आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नगरपालिकालाई रु नौ करोड ५३ लाखभन्दा बढीको भौतिक क्षति भएको जानकारी गराए
नगरपालिकाले यसपालीको बजेटबाट पुनर्निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेको र स्थानीय तथा सहयोगी दाताबाट सामग्री र नगद सङ्कलनको काम पनि अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताए।
नगरपालिकाका विभिन्न सार्वजनिक संरचना, विद्यालय र व्यक्तिका घरधुरीमा क्षतिको समीक्षा गर्दै आवश्यक प्राथमिकताको सूची तयार गरेको जनाइएको छ ।





























प्रतिक्रिया