काठमाडौं । जेन जी आन्दोलनमा गत २४ भदौमा चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगजनीमा परेर जलेका शवको पहिचान गर्न कठिनाइ हुने भएको छ ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्णरूपमा जलेर खरानीको अवस्थामा रहेका छन् । ती शवहरू छुँदा धुलो हुने अवस्थामा छन् र हड्डीको आकारमात्र बाँकी छ । ‘छोयो भने धुलो हुन्छ, त्यसैले हाम्रो तर्फबाट डीएनए बाट पहिचान गर्न सम्भव नहोला,’ डा. चौधरीले बताए ।
यद्यपि, नुमना संकलन गरेर राखिएको छ । नमुना निकालेपछि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर नमुनाबाट डीएनए निकालिने छ । ‘हाम्रो काम डीएनए मार्फत नमुना निकाल्ने हो । हामीले प्रहरीलाई खबर गरेका छौं,’ डा. चौधरीले भने, ‘प्रहरीले थप अनुसन्धान गर्छ ।’
ल्याबको आधिकारिक प्रतिवेदनले डीएनए पहिचान सम्भव छ कि छैन भन्ने पुष्टि गर्ने उनले बताए । पूर्ण रुपमा जलेको शवले पहिचान गर्न प्रहरी र सम्बन्धित निकायलाई थप चुनौती थपिएको छ । डा. चौधरीले विगतमा पनि यस्ता घटनामा डीएनए पहिचान गर्न कठिन भएको अनुभव सुनाए ।
उनका अनुसार धेरै दिनसम्म जलेको शवमा डीएनको नमुना पनि नष्ट भइसकेको हुन्छ । ‘लगातार दुई–तीन दिनसम्म आगोको तापमा बसेको शवमा नमुना सबै नष्ट भइसकेको हुन्छ,’ डा.चौधरीको भनाई छ। उनले शवहरूको पहिचानमा थप जटिलता रहेको र आफन्तहरूबाट कुनै जानकारी नआएको बताए ।‘मानिस हराएको भन्ने हामीलाई कुनै जानकारी आएको छैन, त्यसबारे प्रहरीमा केही खबर भएको छ कि,’ डा. चौधरी भन्छन् ।
जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए । जसमध्ये ३९ जनाको पोस्टमार्टम गरेर आफन्तले बुझिसकेका छन् । तर ७ वटा शव भने पूर्ण जलेका अवस्थामा रहेको र पहिचान नभएको छ।































प्रतिक्रिया