अस्पतालमा कुरुवा र विरामीको आक्रोश (भिडियोमा)

अस्पतालमा कुरुवा र विरामीको आक्रोश (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन ।

बिहिबार विहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन । विरामी र विरामी कुरुवाहरुले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि विरामी र विरामीका कूरुवाहरुले सास्ती व्यहोर्नु परेको छ । विरामी कुरुवाहरुले आफ्नो विरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन । गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

नुवाकोटका दिनेश रानामगरले अस्पताल बन्द गरेर चिकित्सकहरुले आफूहरुलाई मारमा पारेको भन्दै आक्रोश व्यक्त गरेका छन । विरामी लिएर अस्पताल आएका उनले आज ओपीडी सेवा बन्द भएको आफूलाई जानकारी नभएको पनि बताएका छन ।

खुट्टामा घाउ लिएर अस्पताल पुगेका काभ्रेका कुलबहादर रसायलीले डा. केसीको माग सही भएपनि विरामीको उपचार छाडेर आन्दोलनमा जाने काम जायज नभएको बताउनु भयो । उहाँले घाउ लिएर आज ओपीडीमा उपचारका लागि आएपनि अस्पतालको सेवा बन्द भएकोमा आपत्ति जनाउनु भयो ।

सेवाग्राहीहरुले अस्पताल बन्द गरेर चिकित्सकहरुले विरामीमाथि खेलबाड गर्न नहुनेतर्फ पनि सचेत गराएका छन । उनीहरुले डा. केसीको माग सम्बोधन गराउन आफूहरु पनि आन्दोलनमा जाने तर अस्पतालको सेवा तत्काल खुलाउनुपर्ने माग पनि चिकित्सकहरुसँग राखेका छन । वरिष्ठ चिकित्सक केसीले जुम्ला पुगेर आमरण अनसन बसेपछि चिकित्सकहरुले उहाँको माग सम्बोधन गराउन अस्पतालका आकस्मिकबाहेक सबै सेवा बिहिबारबाट बन्द गरेका हुन । चिकित्सकहरुले अस्पतालको ओपीडीलगायतका अतिआवश्यक सेवा बन्द गरेपछि विरामी र उनका आफन्तले जीवन रक्षाको लागि उचित वातावरण बनाउन सरकारको पनि गम्भिर ध्यानाकर्षण गराएका छन ।

यसैवीच सरकारले संघीय संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नगर्ने अडान लिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विगत सरकारले बनाएकै विधेयक हुबहु ल्याउनुपर्ने माग गर्दै सदन र सडक आन्दोलन घोषणा गरिरहेका बेला सरकारले विधेयक फिर्ता नगर्ने संकेत गरेको हो । सरकारले संसदीय प्रक्रियामा प्रवेश गरिसकेकाले प्रक्रिया अनुसार नै विधेयक संसदबाट नै संसोधनको काम अघि बढ्ने स्पष्ट पारेको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विहिबार बिहान मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरि माथेमा कार्यदलको मुलभुत कुरा विधेयकमा राखिएको भन्दै संसोधनका लागि संसदिय प्रक्रिया अनुसार नै अघि बढ्नुपर्ने तर्क गर्नुभयो । उहाँले संसदमा दर्ता भएको विधेयकमा विरोधको सुचनाको प्रस्ताव पनि दर्ता भईसकेकाले प्राप्त संसोधन प्रस्तावका आधारमा विधेयकलाई परिमार्जन गर्न सकिने बताउनुभयो ।

उहाँले अनसनरत डाक्टर गोविन्द केसीलाई निर्वाचित संसदको गरिमा र संसदिय प्रक्रियालाई बुझिदिन आग्रह समेत गर्नुभयो । चिकित्सा शिक्षामा विपन्न , गरिबको पहुँच सुनिश्चित गर्दै समग्र चिकित्सा शिक्षामा देखिएका विसंगति अन्त्य गर्ने सवालमा विधेयक केन्द्रीत भएको भन्दै उहाँले सक्दो छिटो संसदबाट पास गरेर कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले जीवनरक्षा र स्वास्थ्य रक्षाका लागि सरकारले उहाँलाई लिन हेलिकाप्टर पठाएको जानकारी दिनुभयो । नागरिकको संरक्षकत्वको जिम्मेवारी लिदै सरकारले डाक्टर केसीलाई राजधानी ल्याएर उपचारको व्यवस्था गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।

जुम्लामा अनशनरत डाक्टर केसीलाई केहीबेरमा नेपाली सेनाको हेलिकोप्टरबाट ल्याएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिने छ ।

 

Logo