काठमाडौं
विगत १९ दिन देखि जुम्लामा अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार राति भएको आकस्मिक बैठकले गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केसीको जीवन बचाउनका लागि सुविधा सम्पन्न अस्पतालमा ल्याएर उपचार गरेपछि उनका माग बारेमा छलफल गर्ने पनि निर्णय गरेको छ । माग पुरा नभए सम्म डा केसीले अनशन नतोड्ने अवस्था देखिएको निचोड निकाल्दै नेकपाले सबैभन्दा पहिले उनलार्इ सुविधा सम्पन्न अस्पताल (राजधानी) मा ल्याएर उपचार गराएपछि उनका माग बारेमा छलफल गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
१९ दिन देखि अनशनरत डा केसीको ताजा अवस्था र उनलार्इ उपचार गर्न सक्ने चिकित्सक तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे जानकारी लिएका थियौं,’ बैठकपछि श्रेष्ठले भने, ‘हामीले प्राप्त गरेको जानकारी अनुसार जुम्लामा डा केसीको उपचार असम्भव रहेको छ , त्यसैले नेकपाको बैठकले जीवनरक्षाका लागि आज सुविधा सम्पन्न अस्पतालमा ल्याएर उपचारपछि माग बारेमा छलफल गर्ने निर्णय भएको छ ।’
डा केसीको माग सम्बोधनका लागि अहिले सरकारबाट भइरहेको व्यहार दुर्घटना निम्त्याउने दिशामा गएको भन्दै नेकपा भित्रै आलोचना समेत भइरहेको छ । तर बुधबार राति बसेको नेकपाको आकष्मिक बैठकले केसीको उपचार गर्ने र माग सम्बोधन गर्ने विषयमा पहल थाल्ने निर्णय गरेको छ । केसीले माग पुरा नगरेसम्म पछि नहट्ने र सरकारले पहिले माग पुरा गर्ने भन्दा केसीको उपचारलार्इ पहिलो प्राथमिकता दिएपछि भिडन्तको अवस्था उत्पन्न भएको छ ।





























प्रतिक्रिया