दसैँमा बली प्रथाः आवश्यकता कि भ्रम ?

दसैँमा बली प्रथाः आवश्यकता कि भ्रम ?


काठमाडौं । दसैँ नेपाली समाजको सबैभन्दा ठूलो र भव्य पर्व हो। विजयादशमीको रूपमा चिनिने यो पर्व केवल धार्मिक आस्था मात्र होइन, सामाजिक एकता र सांस्कृतिक उत्सवको प्रतीक पनि हो।

गाउँदेखि सहरसम्म, धनीदेखि गरीबसम्म, सबैको घर–आँगनमा दसैँको रौनक फरक तरिकाले देखिन्छ। नवदुर्गा पूजा, टीका–जमारो, परिवारजनको भेटघाट र सामाजिक मेलमिलाप यस पर्वका सुन्दर पक्ष हुन्। तर यति ठूलो र अर्थपूर्ण पर्वसँगै एक गम्भीर प्रश्न पनि जोडिएको छ—देवीलाई प्रसन्न पार्न अनिवार्य रूपमा जनावरको बली दिनुपर्छ भन्ने परम्परा। आजसम्म पनि धेरैलाई लाग्छ, बिनाबली देवी रिसाउँछिन्, शक्ति जाग्दैन, र आशीर्वाद प्राप्त हुँदैन। तर यो धारणा कतिसम्म यथार्थ हो ?

यदि हामी सचेत भएर सोच्ने हो भने देवी दुर्गा, जसलाई शक्तिकी प्रतीक, करुणा र मातृत्वको प्रतीकका रूपमा पूजिन्छ, उनले आफ्नै सन्तानको रगत माग्छिन् भन्ने कुरा कति अस्वाभाविक लाग्छ। कुनै पनि आमा आफ्ना सन्तानको रगत पिउन सक्दिनन्, आफ्नै बच्चाको मासु खान सक्दिनन्। अनि किन देवीलाई हामी यस्तो निर्दयी, क्रूर रूपमा चित्रित गर्ने? देवीको मूल स्वरूप करुणा हो, रगत होइन।

मानव सभ्यता र संस्कृतिको विकासक्रममा मानिसको आहार पनि परिवर्तन भएको छ। प्राचीन समयमा जब मानिस जंगलमै बाँच्थ्यो, असभ्य र असुरक्षित जीवन बिताउँथ्यो, त्यसबेला सम्भवतः मासु सेवन आवश्यक थियो। तर सभ्यताको विकाससँगै मानिसले खेतीपाती सिक्यो, अन्न उत्पादन गर्न थाल्यो, फलफूल, अन्नबाली र तरकारीमा जीवन निर्वाह गर्न थाले। यतिबेला पनि हाम्रो शरीरलाई नियाल्ने हो भने स्पष्ट हुन्छ—हामीलाई शाकाहारी जीवनशैलीकै लागि सिर्जना गरिएको हो।

हामीसँग तीखा नङ छैनन्, जुन प्राकृतिक रूपमा मासु च्यात्न प्रयोग हुन्छ। हाम्रो दाँत पनि च्यात्ने, फाड्ने नभई चपाउने खालको छ। हामी पानी चाटेर होइन, घाँटीको सहायताले पिउछौं। यी सबै कुरा मिलाएर हेर्दा मानिसलाई शाकाहारी प्राणीको श्रेणीमा राख्न सकिन्छ। यदि प्राकृतिक संरचनाले नै हामीलाई शाकाहारी जीवनशैलीतर्फ डोर्याउँछ भने किन हामी अझै पनि मासु खान धर्मको नाममा बहाना खोज्छौं?

समस्या केवल आहारको मात्र होइन, विश्वासको हो। धर्मका नाममा केही ढोंगी मानिसहरूले समाजलाई भ्रममा पारे। मूल ग्रन्थहरूले भनेको कुरा फरक छ, तर व्याख्या गर्नेहरूले आफ्नो स्वार्थअनुसार अर्थ लगाइदिए। शास्त्रहरूले भनेका छन्, बली भन्नाले वास्तवमा काम, क्रोध, लोभ, मोह जस्ता दुर्गुणहरूको त्याग हो। तर कतिपय स्वार्थी समूहले यसलाई जनावरको हत्या सँग जोडिदिए। यसरी जनावरको मासु खान पाउने बहाना बनाए। धर्मलाई आफ्नो पेटका लागि प्रयोग गर्ने यो प्रवृत्ति आजसम्म कायम छ।

यसो भन्दैमा बली संस्कारको ऐतिहासिक पृष्ठभूमि नस्वीकार्ने कुरा होइन। प्राचीन समयमा केही शक्तिपीठ र देवालयमा विशेष देवताको आराधनामा बली दिने चलन थियो। तर यसको वास्तविक कारण फरक थियो। देवताको वाहनलाई सम्मान दिने संस्कार थियो। जस्तै, पाहुना घोडामा आउँदा त्यसलाई दाना वा घाँस खुवाउने चलन हुन्थ्यो। त्यसैगरी देवताको वाहनलाई तृप्त पार्ने प्रतीकात्मक संस्कारलाई पछि मानिसहरूले देवीलाई रगत चाहिन्छ भन्ने गलत व्याख्या गरे।

आज प्रश्न उठ्छ—यदि मासु खानु नै छ भने किन केवल बाख्राको? किन कुखुराको मात्र ? किन गाई वा अरू जनावरको निषेध ? आखिर मासु भनेको मासु नै हो। यदि हामी जनावरको मासु खान सक्छौं भने, किन मानवको मासु खान सक्दैनौं ? यस प्रश्नले आफैंमा स्पष्ट जवाफ दिन्छ—मानवलाई मासु आवश्यक छैन, केवल चाहना वा लोभका कारण मात्र मासु खान खोजिन्छ।

धार्मिक दृष्टिले पनि यो कुरा केवल हिन्दू धर्ममा मात्र सीमित छैन। मुस्लिम धर्ममा बकर ईद, इस्लामका अन्य पर्वहरूमा पनि बली संस्कार जोडिएको हुन्छ। विगतमा इसाई धर्ममा पनि जनावर बली दिने चलन थियो। तर समय बदलिँदै गयो, समाजले सभ्यता र संवेदनशीलताको बाटो रोज्यो, र यस्ता प्रथाहरू धेरै हदसम्म घट्दै गए।

हाम्रो समाजमा पनि अब परिवर्तनको आवश्यकता छ। दशैंलाई विजय, सदाचार र सत्यको प्रतीकका रूपमा मनाउनुपर्छ। देवीलाई खुसी पार्ने कुरा निर्दोष जनावरको रगत होइन, हाम्रो श्रद्धा, हाम्रो आस्था, हाम्रो सत्य र हाम्रो कर्म हो। हामीले पराजित गर्नुपर्ने कुरा बाख्रा वा कुखुरा होइन, बरु आफ्नो भित्रका दुर्गुण हुन्—क्रोध, ईर्ष्या, लोभ र अज्ञान।

दसैँमा पूजा गर्दा, टीका–जमारोमा आशीर्वाद लिँदा, देवीसमक्ष व्रत बस्दा र प्रार्थना गर्दा, हामीले सन्देश यही लिनुपर्छ—देवीलाई चाहिने कुरा हाम्रो श्रद्धा हो, निष्ठा हो, करुणा हो। यदि हामीले निर्दोष प्राणीको जीवन बचाउन सक्यौं भने त्यो नै देवीलाई दिने सबैभन्दा ठूलो पूजा हो।

Logo