कांग्रेस विशेष महाधिवेशनबारे सोध्नेलाई हस्ताक्षर गर्नुस् भनेको छु -विश्वप्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनबारे सोध्नेलाई हस्ताक्षर गर्नुस् भनेको छु -विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गर्नेहरुलाई हस्ताक्षर गर्न आग्रह गरेका छन् ।

आफूले कसैलाई पनि फोन गरेर विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न नभनेको तर चासो देखाएर फोनबाट सोध्ने नेता/कार्यकर्ताहरूलाई भने हस्ताक्षर गर्न सुझाव दिएको उनकाे भनाइ छ ।

मंगलबार एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री शर्माले विशेष महाधिवेशनको माग पार्टीको विधानसम्मत रहेको र यसले पार्टीलाई कमजोर नबनाउने दाबी गरेका छन्।

उनले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियानमा सहभागी हुन चाहनेहरूलाई असोज २४ गतेभित्रै हस्ताक्षर गर्न आग्रह गरेका छन्। हस्ताक्षर संकलकहरूले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकभन्दा एक दिनअगाडि अर्थात् असोज २५ गते केन्द्रीय कार्यालयमा दर्ता गर्ने योजना बनाएको सन्दर्भमा उनले यस्तो आह्वान गरेका हुन्। उनले सँगसँगै उभिन चाहनेहरूले ‘साइत’ कुर्नु नपर्ने पनि बताए।

यसैगरी, उनले पार्टीको केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाए हुन्न भन्ने सुझाव पनि आएको बताए ।

“यो सही सुझाव हो, विधानअनुसार पनि केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्छ, असोज २६ को केन्द्रीय समितिमा यो सुझावबारे पनि छलफल गर्छौं,” शर्माले भने।

उनले वर्तमान विषम परिस्थितिमा पार्टी ‘जमेको पोखरीजस्तो बसिरहन नचाहने’ र उपयुक्त निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । तर, केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन नचाहेको खण्डमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले राखेको मागलाई सम्बोधन गरिने पनि उनले बताए।

Skip This
Skip This
Logo