काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता महेश बर्तौला ले वर्तमान गृहमन्त्री लाई ‘राज्यविरुद्धको अपराध’ को आरोप लगाउँदै तत्काल पदबाट बर्खास्त गरी गिरफ्तार गर्न माग गरेका छन्।
उनले गृहमन्त्रीलाई जेनेरेसन जेडको शान्तिपूर्ण आन्दोलनमा सुनियोजित घुसपैठ गरी हिंसा भड्काउने र विध्वंस मच्चाउने कार्यको ‘चौबिसै क्यारेटका स्टेकहोल्डर’ भएको गम्भीर आरोप लगाएका छन्।
नेता बर्तौलाले गृहमन्त्रीमाथि लगाएका गम्भीर आरोपहरू-
लुटेका हतियारको जानकारी: आन्दोलनका क्रममा प्रहरीबाट लुटेका हतियारहरू (बन्दुक र गोली) कहाँ र कोसँग छन् भन्ने शतप्रतिशत सूचना गृहमन्त्रीलाई रहेको बर्तौलाको दाबी छ।
शान्ति भङ्ग र हिंसा: गृहमन्त्रीले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै भएको जेन जेडको शान्तिपूर्ण आन्दोलन भित्र घुसपैठ गराई शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा संलग्न रहेको आरोप।
सम्पदा र सम्पत्ति नष्ट: उनले इतिहास, सम्पदा र दस्तावेजहरू छानीछानी नष्ट गर्ने, व्यक्तिका घर, व्यावसायिक भवनहरूमा तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कार्यको ‘प्रायोजित उत्प्रेरक’ भएको उल्लेख गरेका छन्।
सरकारी भवनमा आगजनी: सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरूमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार को भूमिका खेलेको आरोप।
अपराधीलाई उन्मुक्ति: गृहमन्त्रीले पदभार ग्रहणलगत्तै उल्लेखित फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाण हुँदाहुँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन दिएको बर्तौलाको दाबी छ।
गृहमन्त्रीको सोही निर्देशनका कारण अहिले मुलुकमा अराजकता, दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको नेता बर्तौलाले बताएका छन्।उनले ‘सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरू’ का आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकार का रूपमा रहेका वर्तमान गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराध मा गिरफ्तार गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन्।





























प्रतिक्रिया