काठमाडौं । जेन–जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी टिम अर्थात् सचिवालयमा अल्पमतमा देखिएका छन् ।
शुक्रबारदेखि भक्तपुरको गुण्डुमा रहेको अध्यक्ष ओलीको भाडाको घरमा शुरु भएको बैठक शनिबारलाई पनि तय भएको थियाे । तर ओलीको स्वास्थ्यमा समस्या भएको भन्दै आज आइतबार बसिरहेकाे छ । यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षहरू र महासचिवले आफ्ना धारणा राखेका थिए । अधिकांश उपाध्यक्षले हालको अवस्थामा अध्यक्ष ओलीले नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा यसअघि ओलीका पक्षमा उभिएका नेताहरु पनि उनको विपक्षमा खुलेका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत पदाधिकारीले पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान ओलीले अध्यक्षबाट मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन्। उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरे भने उपाध्यक्षद्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि जेन–जी आन्दोलनपछि पार्टी नेतृत्वप्रति नैतिक प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका थिए ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ जेन जी आन्दोलनपछि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । बाँकी दुई उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीकै नेतृत्वको निरन्तरताको पक्षमा छन् । पार्टीमाथि चौतर्फी हमला भएका बेला नेतृत्व परिवर्तन गर्न नहुने उनीहरुकाे तर्क छ ।
आज बस्ने सचिवालय बैठकमा तीन उपमहासचिव र ६ सचिवले राख्ने धारणाले एमालेको आगामी बाटो तय हुँदैछ । ७ सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेसँगै पार्टीमा निलम्बनमा छन् ।
यसअघि शुक्रबार झन्डै ७ घण्टा बसेको सचिवालय बैठकमा कसैको साथ नपाएका ओलीले आन्तरिक तयारी गरेर शनिबारको बैठक स्थगित गरी आइतबारलाई बोलाएर नयाँ रणनीतिमा छलफल गर्ने ओली स्रोतको दावी रहेको छ । असाेज २९ गतेदेखि हुने केन्द्रीय समिति बैठक आह्वान गरेको एमालेमा ओलीको निरन्तरता कि पार्टी पुर्नगठन भन्ने बहसको हुने अनुमान गरिएको छ । ओली भने जेन–जी आन्दोलनपछि पनि पार्टी नेतृत्व नछाड्ने र नेताहरुलाई फकाउने प्रयासमा छन् ।





























प्रतिक्रिया