काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक अभियन्ता ईःईःलाई नेता बनी मिलेर आए प्रधानमन्त्री बनाउन तयार रहेकाे बताएका छन् ।
ईःईःले आफ्नो सामाजिक सञ्जाल पोस्टमा केपी ओली, बालेन शाह र दुर्गा प्रसाईं जस्ता पात्रहरूलाई लिएर टिप्पणी गरेका थिए । उनले ‘फेस भ्याल्यूमा वैचारिक भिन्नता भए पनि राजव्यवहारिक रूपमा धेरै अन्तर नभएको’ र ‘आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनै पनि हदसम्म जान तयार हुनसक्ने’ भन्दै यस्ता पात्रहरूभन्दा विकसित र गतिशील नेतृत्वको आवश्यकता औँल्याएका थिए । ईःईःले यी पात्रहरूलाई ‘आम हिपोक्रिसीको ऐनामात्र’ भएको आरोप पनि लगाएङ्का थिए ।
सो पोस्टको मेयर बालेन शाहले जवाफ दिँदै नेपालको विद्यमान राजनीतिक नेतृत्वमाथि व्यङ्ग्य गरेका छन् । उनले ‘८० वर्ष पुग्दा पनि प्रधानमन्त्री बन्ने, अध्यक्ष बन्ने’ देशमा आफूले भने ‘३५ वर्षकै उमेरमा तपाईंहरू आउनुस्, देश चलाउनुस्’ भनिरहेको बताएका छन् ।
शाहले ईःईःलाई लक्षित गर्दै भनेका छन्, ‘सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईंहरू पनि लिडर बन्नुस्! म तपाईंलाई प्रधानमन्त्री, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस्! म कार्यकर्ता बन्न तयार छु!’
मेयर शाहले आफूलाई देश छोड्ने हो भने ‘एक जना मन्त्रीबिना एक्लै देश बनाइदिन सक्ने’ दाबी समेत गरेका छन् । तर उनले थप स्पष्ट पार्दै ‘यस्तो कुराले म बन्छु, देश बन्दैन’ भन्दै देश निर्माणका लागि सामूहिक र नयाँ नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।































प्रतिक्रिया