‘एसईई’को नतिजा आएसँगै धेरै जना ‘एस’ ‘एस’ भन्दै बुर्कुसी मारिरहेका छन् । फेल नै नहुने खेल भएपछि ‘नो’ भन्ने कुरा पनि त भएन नि । अझ ‘ए प्लस’ ल्याउने विद्यार्थी त बुरुकबुरुक हुने नै भए अभिभावकहरु समेत हुरुक्क छन् । नहुन पनि कसरी । १० बर्षसम्म मरिमेटी पढाएर पनि यति उफ्रिन पाएन भने त के मज्जा भो र । अहिले एसईई उत्तीर्ण छोराछोरीको नाक घिरौला जत्रो भएको छ भने आमाबुवाको नाक चाँही लौका जत्रो ।
एसईई पार गरेका विद्यार्थीहरु अहिले चरा बनेर हराभरा नियालीरहेका छन् । उनीहरु आपूmलाई बच्चैदेखि बाँधेको दाम्लो फुकालेको अनुभव गर्दैछन् । दाम्लो फुकालेपछि गोरु जसरी उफ्रिन्छ अहिले केटाकेटीहरुको मन त्यसरी नै भुरुकभुरुक भईरहेको छ । अहिले कोही मिठाई बाँड्दै रमाईरहेका छन्, कोही बियर पार्टी जमाईरहेका छन् । कोही आपूmलाई ठूलै मान्छे बनेको ठानिरहेका छन् भने कोही चै अब कसरी पढ्ने भनेर दिक्दारी मानिरहेका छन् । SEE पास गरेकाहरु अब कोही She खोज्न थाल्छन् कोही He खोज्न थाल्छन् ।
छोरीछोरीको ए प्लस रिजल्ट आएपछि अभिभावकको खुट्टा त भुईमै भएपनि मन चै युरोप पुग्छ । रिजल्ट के भयो भनेर मात्रै सोध्नुपर्छ उनीहरुको नाक फुल्छ । हर्षले मुहार पूरै सेन्टी हुन्छ । अझ सोच्दै नसोचेकाले ए प्लस ल्याउनुपर्छ खुसीको आँसुले अवाक हुन्छ । अघिल्लो दिनसम्म ‘पैसै छैन’ भन्नेहरुलाई पनि ए प्लसले मालामाल बनाउछ छ कि क्या हो कुन्नी । भनेजति खर्चिन्छन् । छोरोछारीलाई भनेकै गिप्mट किनिदिन्छन् । भनेकै कलेजमा पढाउन तम्तयार हुन्छन् । छोरा भए गतिलो बुहारी पाउने आशले हुरुक्क, छोरी भए गतिलो ज्वाँई पाउने आशले भुरुक्क ।
अहिले घिरौला र लौका जत्रो नाकहरु अबका केही दिनमा सुक्दै सिन्के जत्रो हुनेछ । प्लस टु कलेजहरुको फर्सी जत्रो भ्याट्ट भुँडी भर्न परेपछि लौका र घिरौलालाई सुकेनाश लाग्नु सर्वमान्य नियम हो भनेर प्लस टु पुराणमा लेखिएको छ । अर्थ न बर्थको के कुरा गरेको होला भन्दै हुनुहुन्छ भने एकपटक प्लस टु कलेजहरु चहार्नुहोस् । प्लस टु अर्थात टु प्लस कलेजहरु ए प्लस र बी प्लस बिद्यार्थीहरुलाई बेहुलीलाई जसरी फकाईफकाई भित्र्याउन तम्तयार भएर बसेका छन् ।
कलेजको गेटमा पुग्ने बित्तिकै गार्ड दाईको स्यालुट, भित्र पस्ने बित्तिकै नमस्ते, आईस्यो, बसिस्यो । कुरा गर्न थालेपछि तातो/चिसो । कुरा सुन्दै जाँदा कँही नभएको सुविधा त्यही मात्रै भए जस्तो लाग्ने । होटलदेखि होस्टलसम्म, सुरक्षादेखि सुविधासम्म, क्वालिटीदेखि क्वान्टिटीसम्म, अझ कति कति । एक्स्ट्रादेखि एक्स्ट्रासम्म । कलेजको काउन्सेलिङले बिद्यार्थी पनि मख्ख अभिभावक पनि मख्ख । लास्टमा शुल्क सोधेपछि चाँही महाभारतमा हनुमानले बोकेर ल्याएको पहाड आप्mनै टाउकोमा बिसाएको जस्तो । मख्ख अभिभावक एकैछिनमा दिक्क । बिद्यार्थी ट्वाँ, अभिभावक क्वाँ क्वा !
जुन कलेजमा गयो त्यही त्यस्तै । न स्वागत सत्कारमा कमी, न मान सम्मानमा कमी, न तातोचिसो ख्वाउनमा कमी, न बोली बच्चनमा कमी, न सेवा सुविधामा कमी तर बिडम्वना कमी छ त केवल मनीको । अब प्लस टु कलेजहरुले गेटमै लेखे हुन्छ । ‘माइन्ड बढाउछौ तर मनी बढी लिन्छौ’, ‘ज्ञान र धनको ब्रोकर बिल्डिङ’, ‘भनेजस्तो शिक्षा, मागे जति भिक्षा ।’ ‘सेवा सुविधा पढाई राम्रो, तपाईको कमाई सबै हाम्रो’ ।
प्लस टुको आहारा भनेकै ए प्लस, बी प्लस … बिद्यार्थीहरु हुन् । प्लसवाला विद्यार्थीहरुको भिजन नै प्लस टुवाला कलेजहरुको सिजन । एसईईले बिद्यार्थी र अभिभावकलाई मात्रै होईन अरु धेरैलाई लिलिबिली पारेको छ । चक्लेट बेचेर पसलेको मुहार नै चक्लेटी । लड्डु बेचेर मिठाई पसले मख्ख, मासु बेचेर मासु पसले मख्ख, बियर बेचेर मदिरा दाई मख्खै । अनि फ्रिमा खान पाएर हामी जस्तालाई त झनै डबल मख्ख ।
प्लस भन्ने चिजले जन्मेदेखि मृत्युपछि पनि नछोड्ने रहेछ । जन्मेपछि परिवार प्लस, स्कुल भर्ना भयो हिसाब प्लस, रिजल्ट आयो ए प्लस नसके डी प्लस । एसईई पार लागेपछि तब झन प्लस नै प्लसतिर पाइला चाल्छन् । प्लस टु भर्ना हुनेबित्तिकै उनीहरु ब्युटीप्लसवाला फोन बोक्छन् । अनि बोरो प्लस डल्दै कहिले कता धल्केर, कहिले कता पल्टेर, कहिले मुख चुच्चो पारेर, कहिले दात ङिच्च गरेर, कहिले आँखा चिम्सो पारेर ब्युटीप्लसलाई फोटो खिच्ने ड्युटी दिन्छन् । फोटो खिच्दा खिच्दा ब्युटीप्लसलाई वाक्क दिक्क लाग्ला तर यी प्लस टुवालाको ब्युटी प्यास मेटिदैन ।
प्लस टुदेखि नै पान प्लस, करेन्ट प्लस, शुद्ध प्लसको सेवन शुरु हुन्छ । यही बेलादेखि आफ्नो नाममा अर्काेको नाम प्लस हुन्छ । अनि लेख्न थाल्छन् फलानो प्लस फलानो । एउटासँग ब्रेकअप भए फेरि अर्काे प्लस । जब मायाको मात्रामा प्लस÷प्लस हुँदै जान्छ अनि उनीहरु दुँनियालाई देखाउन बिबाहको कारमा पनि प्लस नै लेख्छन् । जब कारमा प्लस लेखिन्छ त्यसले त झनै जीवनको ड्युटीमा प्लस नै प्लस ल्याउछ । खानपीन प्लस, घुमफिर प्लस, सम्बन्ध प्लस । मायामा प्लस नै प्लस भएपछि अनि हुन्छ बेबी प्लस । अनि फेरि उही घडी, उही सुइर्, उही चक्र । जीवन लिला समाप्त हुँदा पनि प्लस नै लेखिएको बाहनमा सवार भएर स्वर्गीय प्लस ।
प्लसको महात्मय बुझेरै होला गुगलले पनि गुगल प्लस ल्याएको छ । फोन कम्पनीहरुले नयाँ फोनको मोडलमा प्लस थप्दै ल्याएका छन् । अनलाइनदेखि न्यूजका च्यानलहरु समेत प्लस थप्दैछन् । हुँदा हुँदा प्लस साइजको मोडल रे । अरुभन्दा मोटा जिउडाल भएका मोडलहरुलाई प्लस साइजका मोडल भन्दा रैछन् । जे भए नि घट्नु भन्दा बढ्नु राम्रै हो त्यसैले प्लसको जय होस् ।































प्रतिक्रिया