काठमाडौं
समग्र अर्थतन्त्रलाई चलायमान बनाइराख्ने धानको उत्पादकत्व पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो ११ वर्षमा धानको उत्पादकत्वमा ठूलो परिवर्तन आएको छ । तर धानमा मुलुक आत्मनिर्भर बनाउन उत्पादकत्व दर भने अझै न्युन छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार विगत १० वर्षको तुलनामा यस आर्थिक वर्षमा उत्पादकत्व दर ०.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिकवर्ष २०६४/६५ मा प्रतिहेक्टर २.८ मेट्रिक टन रहेको उत्पादकत्व वृद्धि भएर अहिले प्रतिहेक्टर ३.५ मेट्रिक टनमा पुगेको छ । आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०६७/६८ देखि उत्पादकत्वमा क्रमिक सुधार हुँदै आएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भने उत्पादकत्व वृद्धि भए पनि धानमा आत्मनिर्भर हुन कम्तीमा प्रतिहेक्टर ३.७५ मेट्रिक टन पुर्याउनु पर्ने जनाएको छ ।
‘उन्नत बीउको प्रयोग, खेतीको समयमा आकाशेपानीको पर्याप्तता, मल र प्रविधिको उपलब्धताका कारण पछिल्लो समयमा उत्पादकत्वमा वृद्धि भए पनि यसले धानमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्न,’ कृषि सचिव डा. युवकध्वज जीसीले भने, ‘उत्पादन र उत्पादकत्व वृद्धि गर्ने प्रमुख कारक सिँचाइ हो । सिँचाइ सुविधा नहुने हो भने जस्तोसुकै उन्नत जात, मल तथा प्रविधि उपलब्ध गराए पनि उत्पादनमा वृद्धि हुँदैन ।’ उनका अनुसार नेपाललाई धानमा आत्मनिर्भर बनाउन प्रतिहेक्टर चार मेट्रिक टन उत्पादकत्व हुनुपर्ने लक्ष्य राखेको छ । तर ३.७५ मेट्रिक टन पुगेको अवस्थामा सजिलै आत्मनिर्भर हुन सक्ने मन्त्रालयको दाबी छ ।
सचिव जीसीका अनुसार नेपालको कुल धान खेती हुने क्षेत्रफल १५ लाख हेक्टर मध्ये करिब २५ प्रतिशतमा मात्रै १२ महिना सिँचाई सुविधा उपलब्ध छ । त्यो पनि जहाँ बढी धानको क्षेत्रफल छ, त्यहाँ सिँचाइ सुविधा पर्याप्त परिमाणमा छैन । सिँचाइ विभागले भने ४० प्रतिशतमा सिँचाइ सुविधा पुगेको दाबी गरेको छ । ‘कागजमा ४० प्रतिशत सिँचाइ सुविधा पुगेको भनिए पनि वास्तविक २५ प्रतिशत मात्रै हो’, सचिव जीसीले भने, ‘उत्पादकत्व र उत्पादनमा वृद्धि गर्न सिँचाइ पनि कृषिसँगै राख्नुपर्छ । यो विषयमा मैले धेरै लबिङ गर्दा पनि सिँचाइलाई छुट्टै राखियो । यसरी कृषिमा समृद्ध हुन कठिन छ।’
आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको उत्पादकत्व दर तीन मेट्रिक टनबाट विस्तार हुँदै चालू आर्थिक वर्षमा ३.५ मा पुगेको हो । पूर्व कृषि सचिव डा. सुरोज पोखरेलका अनुसार उत्पादकत्व दरलाई बीउ प्रतिस्थापन दरले पनि प्रभावित गर्ने गरेको छ । सरकारले वार्षिक रूपमा २५ प्रतिशत बीउ प्रतिस्थापन दर तोकेको छ । तर किसानले वार्षिक रूपमा १३ देखि १४ प्रतिशत हाराहारी मात्रै बीउ प्रतिस्थापन गर्दै आएका छन् । जसका कारण उत्पादकत्व दरमा प्रभाव पर्ने गरेको छ ।
उनी भन्छन्, ‘उन्नत जातको बीउ दिएर पनि उत्पादकत्वमा वृद्धि हुँदैन, यसका लागि उन्नत जातका बीउका साथै बर्सेनि बीउ प्रतिस्थापन दर पनि त्यतिकै महत्व राख्छ।’ किसानले उन्नत जातको बीउ पाएर पनि बर्सेनि बीउको प्रतिस्थापन दर वृद्धि नगर्दा तुलनात्मक रूपमा उत्पादकत्व र उत्पादनमा वृद्धि हुन सकेको छैन । धान उत्पादनयोग्य कुल क्षेत्रफल मध्ये ९२ प्रतिशत क्षेत्रफलमा धानको उन्नत बीउ पुगेको मन्त्रालयको दाबी छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया