काठमाडौं
हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो साता देखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रले साउन देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो । मन्त्रिपरिषद्को ०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रूपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिलिपकुमार चापागाईंले साउनको तेस्रो साता देखि राष्ट्रिय परिचय–पत्र वितरण गरिने जानकारी दिए । उनका अनुसार, परिचयपत्र वितरणका लागि सिंहदरबार र पाँचथरमा असार ५ गते देखि विवरण सङ्कलन तथा ‘डाटा इन्ट्री’ को काम भइरहेको छ ।
सिंहदरबार स्थित सबै मन्त्रालय र निकायहरूमा विवरण सङ्कलनको ढाँचा पठाई सकिएको तथा विवरण आउने क्रम जारी रहेको छ । पहिलो चरण अन्तर्गत परिचयपत्र वितरणको सुभारम्भ सिंहदरबारबाट गरिने जानकारी समेत उनले दिए । यस चरण अन्तर्गत नै पाँचथरमा समेत परिचयपत्र वितरण गरिनेछ ।
परिचयपत्रमा व्यक्तिगत र जैविक (बायोमेट्रिक) गरी दुईवटा विवरण ‘इन्ट्री’ गरिनेछ । व्यक्तिगत विवरण नागरिकता प्रमाणपत्रको आधारमा तथा विवरण सम्बन्धित व्यक्तिको दश औंलाको छाप लिएर ‘इन्ट्री’ गरिने केन्द्रले जनाएको छ । उनले भने, “सुरुमा व्यक्तिगत विवरण ‘इन्ट्री’ गरिसकेपछि सम्बन्धित व्यक्तिलाई बोलाएर जैविक विवरण ‘इन्ट्री’ गर्दै परिचयपत्र वितरण गरिने छ । अहिले ‘सिस्टम चेकिङ’ को काम भइरहेको छ । यसअघि निर्वाचन आयोगद्वारा सङ्कलित विवरण प्रयोग गर्ने योजना बनाइए पनि ती विवरण अपूर्ण देखिएको भन्दै केन्द्रले आफैंले विवरण सङ्कलनको काम सुरु गरेको हो ।
गोरखापत्रबाट































प्रतिक्रिया