महासंघका लागि दुबै जना आवश्यक छ– अध्यक्ष राणा

महासंघका लागि दुबै जना आवश्यक छ– अध्यक्ष राणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुबै उम्मेदवार (किशोर प्रधान र चन्द्र ढकाल) लाई मिलाउने प्रयास भइरहेको बताएकी छन् । दुबै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको उनको भनाइ छ । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष राणाले दुबै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफूले मिलाउने प्रयास गरि रहेको स्पष्ट पारिन ।

आफूले एक पटक फेरि दुबै उम्मेदवारलाई एक ठाउँमा राखेर कुरा गर्ने समेत उनको भनाइ छ । उनले भनिन–‘अध्यक्षको रुपमा मैले दुबै जनालाई एउटा सशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अब निर्वाचनको समय पनि आयो । तिहार सकिएको अवस्था छ । छठपछि एकचोटी दुई जनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नु पनि पर्छ ।’

महासंघको हितको लागि भएपनि दुबै जनाले त्याग गर्न सक्नुपर्ने उनले बताइन् । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुबै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुबै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताइन् ।

त्यस्तै महासंघको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले आ–आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औँ साधारण सभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पटक पटक साधारण सभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारण सभा हुन सकेको थिएन ।

Skip This
Skip This
Logo