काठमाडौं
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबार भित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन । पार्टी एकीकरण भएपछि सिंहदरबार भित्र ‘नेमप्लेट’ र ‘होर्डिङ बोर्ड’मा मात्रै परिवर्तन भए पनि व्यवहारमा दुवै पार्टीका नेताका कार्यालय पूर्ववत आ– आफ्नै ठाउँमा रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद सचिवालयले एउटै भवन उपलब्ध गराउन नसक्दा पहिलेकै ठाउँमा रहेर काम गर्नुपरेको बताए । ‘संसदीय दललाई कुन भवन दिने हो , सो निर्णय संसद सचिवालयले गर्ने हो,’ गुरुङले भने, ‘सो निर्णय गरिदिन नसक्दा अलग अलग रहेको जस्तो देखिएको हो ।’ उनका अनुसार अलगअलग जस्तो देखिए पनि नेकपाको काम कारबाही भने रोकिएका छैनन् ।
जहाँ तत्कालीन एमालेको कार्यालय रहेको थियो, त्यहाँ पूर्व माओवादी नेता पुग्दैनन् भने तत्कालीन माओवादीको कार्यालय रहेको स्थानमा पूर्व एमाले नेता पनि पुगेको देखिँदैन । सिंहदरबार हाताभित्र अझै पनि पूर्व एमाले र पूर्व माओवादीका नेताको छुट्टाछुट्टै कार्यालय र सम्पर्क स्थान यथावत नै रहेको जस्तो देखिएको छ ।
नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन एमालेले प्रयोग गर्दै आएको पुरानै भवनमा नै कार्यालय छ भने उपनेता सुवासचन्द्र नेम्बाङ पनि पुरानै स्थानमा कार्यालयमा नै बस्दै आएका छन् । त्यस्तै प्रमुख सचेतक देवप्रसाद गुरुङ संसदीय सचिवालय भवन नम्बर १ मा बस्दै आएका छन् । जहाँ यसअघि माओवादी संसदीय दलको कार्यालय रहेको थियो । तर सचेतक शान्ता चौधरीको कार्यालय भने पुरानै एमालेको भवनमा रहेको छ, जुन रेडियो नेपालको सामुन्ने रहेको छ ।
नागरिकबाट































प्रतिक्रिया