रुकुम (पश्चिम)
रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिकाबाट जाजरकोटको नगलगाड नगरपालिका हुँदै रुकुम (पश्चिम), डोल्पा र जाजरकोटको सिमाना त्रिवेणि सम्मको दुरी ४५ किलोमिटर छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने ४५ किलोमिटरमा दुई खण्ड छन् । जाजरकोटको नलगाड नगरपालिका ८ बगरा देखि सोही नगरपालिकाको १२ नम्बर वडा तल्लुबगरसम्मको लम्बाइ २२ किलोमिटर छ । त्यसपछि रुकुम (पश्चिम) बाट सुरू हुने आठबिसकोट नगरपालिका ६ को गोतामकोट देखि सोही वडाको त्रिवेणि पुग्न २३ किलोमिटर सडक खण्ड छिचोल्नुपर्छ ।
जाजरकोट र रुकुम (पश्चिम) मा पर्ने ४५ किलोमिटर लम्बाई रहेका जाजरकोट–डोल्पा सडकका दुईवटा खण्ड पार गर्न यात्रुहरुले तीन वटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई जोड्नका लागि ठूलिभेरी नदीमा पक्कि पुल नहुँदा झोलुङ्गे पुलबाट नदी पार गरी नलगाड नगरपालिका ८ बगरा पुग्नुपर्छ र त्यहाँबाट गाडी चढ्ने यात्रुले थप दुईवटा सवारी साधन फेर्नु पर्छ ।
बगराबाट छुटेको गाडी नलगाड नगरपालिकाको १० र ११ को सिमाना चौखासम्म पुग्ने गरेको छ । उक्त ठाउँमा रहेको खोला तर्न नसक्ने भन्दै बगराबाट गएको गाडीले यात्रुलाई त्यहीँ छाड्छ । त्यसपछि यात्रुहरुले त्यहाँ रहेको झोलुंगे पुलको मद्तमा खोला तरेर चौखाबाट अर्को गाडि चढ्नुपर्ने हुन्छ । त्यहाँबाट छुटेको गाडीले नलगाड नगरपालिका १२ को तल्लुबगर सम्म मात्र लैजान्छ ।
त्यसपछि रुकुम (पश्चिम) को खण्ड सुरु हुन्छ । चौखाबाट गाडी चढेर तल्लुबगरसम्म पुगेका यात्रुहरु ठूलिभेरी नदी माथि रहेको पुल तरेर रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका ६ को गोतामकोट पुग्नुपर्छ । त्यहाँबाट अर्को गाडि लिएर सोहि वडाको त्रिवेणि सम्म पुग्न सकिन्छ । यसरी ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्दा निकै सास्ती खेप्नु परेको यात्रुहरुको गुनासो छ ।
यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यताका कारण मात्र सास्ती भोग्ने गरेका छैनन् । त्यो भन्दा ठूलो सास्ती त यात्रुहरुले भाडामा भोग्ने गरेका छन् । ४५ किलोमिटरको दुरी पार गर्न पनि यात्रुहरुले ७ सय भाडा तिर्ने गरेका छन् । जाजरकोटको नगगाड नगरपालिका–८, बगरा देखि सोही नगरपालिकाको १२ नम्वर वडा तल्लुबगर सम्मको २२ किलोमिटर लम्बाई पार गर्न प्रति यात्रु ३ सय भाडा तिर्नुपर्छ । त्यस्तै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, को गोतामकोटदेखि सोही वडाको त्रिवेणि पुग्न प्रति यात्रुबाट ४ सय रुपैयाँ लिइन्छ । यस्तो अवस्था भएपनि सम्बन्धित निकायले यसप्रति कुनै चासो देखाएको छैन ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया