काठमाडौं
२४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर डेढ महिना भन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुको कोचाकोच देखि अव्यवस्थित रुट र छुट्ने समयको मनलाग्दी सम्म उस्तै छ । असार मसान्तसम्म सम्पूर्ण यातायात समितिलाई कम्पनीमा दर्ता भई व्यवसाय गर्न निर्देशन दिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभाग, त्यसपछि गर्नुपर्ने जिम्मेवारीमा गम्भीर देखिएका छैनन् । सिन्डिकेट अन्त्यको घोषणापछि दुर्घटनामा घाइते हुने र मृतकका आफन्त सबैभन्दा समस्यामा परेका छन् ।
आफ्ना समितिहरू खारेज भएपछि यातायात महासंघले दुर्घटनामा घाइते भएकाको उपचार खर्च आफ्नो जिम्मेवारीमा नभएको बताएको छ । सरकार पनि कानुनले दिएको बिमाबाट पाउने खर्च बाहेक थप केही गर्न नसक्ने तर्क गरिरहेको छ । मर्कामा घाइते र मृतकका आफन्त परेका छन् । विगतमा दुर्घटनामा घाइते भएकाको सम्पूर्ण उपचार खर्च यातायात समितिले बेहोर्थे । तर सरकारले यातायात सिन्डिकेट अन्त्य गरेसँगै ती समिति खारेज भइसकेका छन् । उनीहरूको बैंक खाता पनि सरकारले रोक्का गरिदिएको छ ।
सरकारले यातायात सिन्डिकेट औपचारिक अन्त्यको घोषणा गरे पनि यात्रुले महसुस गर्ने गरी कुनै परिवर्तन भएको छैन । यातायात व्यवसायीहरूले पुरानै रुटमा निर्वाध रूपमा गाडी कुदाइरहेका छन् । उनीहरूले पहिले जस्तै आफ्ना समिति अन्तर्गतको गाडीलाई आलोपालो प्रथा कायमै राखेका छन् । यात्रु कोचिएरै यात्रा गर्न बाध्य छन्, सास्ती उस्तै छ ।
बसहरू समयमै नछुटे, गन्तव्य सम्म नपुगे कसले कारबाही गर्ने भन्ने टुंगो छैन । संक्रमणकालका लागि भन्दै यातायात व्यवस्था विभागले नयाँ बसपार्कको टिकट काउन्टरबाट लोत्से बहुउद्देश्यीय प्रालिको ब्यानरमा टिकट काट्ने छुट दिएको छ । यातायात साधन दुर्घटनामा परी घाइते भएका यात्रुको बिचल्ली भएको छ । उपचार खर्च तिर्न नसक्दा केही घाइते अस्पतालमै थुनिनु परेको छ भने मृतकको शव छुटाउन नसकेर आफन्तमा रुवावासी छ । बिमा मार्फत मात्र घाइतेले तीन लाख उपचार खर्च र मृतकका आफन्तले पाँच लाख पाएका छन् ।
सरकारले यातायातलाई व्यवस्थित गर्ने भन्दै कार्यदल गठन गरेको छ । यातायात व्यवसायीहरूले कम्पनी, फर्म र सहकारी अन्तर्गत आफ्नो व्यवसाय दर्ता गर्ने क्रम जारी छ । हालसम्म विभागमा ३१० व्यवसायीले दर्ता गराएका छन् भने १४ अञ्चलका यातायात कार्यालयबाट दर्ता गर्ने क्रम चलिरहेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया