रुस -युक्रेन युद्धको एक हिस्सेदार-माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनाको कमाण्डरमा बढुवा

रुस -युक्रेन युद्धको एक हिस्सेदार-माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनाको कमाण्डरमा बढुवा

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । माओवादी पूर्वलडाकु डायमण्ड सी रूसी सेनाको सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको बताएका हुन्।

‘कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’

उनले लेखेका छन्। ‘कहिलेकाहीँ जिवनमा देखेको सपना पूरा हुन्न वरु नदेखेको सपना पूरा हुन्छ।जनयुद्धमा सहभागी हुदा देखेका कैयन सपना अधुरै रह्यो,ती अधुरो सपनाकै विच रुसको पक्षवाट रुस -युक्रेन युद्धको एक हिस्सेदार वन्ने कठोर निर्णय गरियो । भिषण युद्धको विच आफ्नै जिवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमा समेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात सेक्सन सह कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै,यद्यपि युद्धकालिन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ।’

आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् । रूसी सेनामा भर्ती भएपछि उनले लामो स्टाटस लेख्दै माओवादी जनयुद्ध र नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।

शान्ति प्रक्रियापछि विस २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए । जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए । ०६८ सालताका नै प्रचण्डबाट अलग भएर बनेको मोहन वैद्ध किरण नेतृत्वको नेकपा माओवादीमा समेत उनी केही सक्रिय भएका थिए ।

पछि ०७१ सालमा वैद्ध समूह छाडेर विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका उनी म्याग्दी जिल्लाको सेक्रेटरीको भूमिकामा थिए ।‘ हिजो १० वर्षे जनयुद्धको एक योद्धा आज लेनिनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्ध कठिन लडाइँ लड्दै छु,’ उनले भनेका थिए ।

उनी अवैधानिक तरिकाले रूस गएर त्यहाँको सेनामा भर्ती भएका हुन् । उनका अनुसार दुई वर्षभन्दा अघि रूसी सेनामा जुनिएर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डरमा भर्ती भएका उनी पछिल्लो पटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरमा बढुवा भएका छन् । सेक्सन कमाण्डरले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युक्रेनविरुद्धको युद्धमा अग्रमोर्चामा खटिनुपर्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली समेत माओवादी युद्धमा लडाकु थिइन् ।

Logo