काठमाडौं । बिजुलीको बक्यौता नतिर्ने उद्योगहरुको प्राधिकरणले लाइन काट्न शुरुवात गरेको छ । लामो समयसम्म भुक्तानी गर्न ताकेता गर्दापनि महसुल नतिर्नेहरुको लाईन काटिएको प्राधिकरणले जनाएको छ । उद्योगहरुले बिजुली प्रयोग गरेको टिओडी मिटरको बिल प्रमाण अदालतले माग्दासमेत उपलब्ध गराउन नसकेको प्राधिकरणले बक्यौता नतिरेको भन्दै आज बिहानबाट लाइन काट्न थालेको हो।
आज जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो । यस्तै, महशुल नतिर्ने अन्य उद्योगहरुको पनि काट्ने तयारी प्राधिकरणले गरेको छ ।
प्राधिकरणको भनाइअनुसार जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवम् को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता छ । तर उद्योगीहरुले प्राधिकरणले त्यसको बिल प्रमाण दिन नसकेकाले बक्यौता नबुझाउने अडान लिएका छन् ।
२०७५ सालदेखि कायम डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीहरुले टीओडी मिटरलगायत प्रमाण पेश गरे देखिएको सम्पूर्ण बक्यौता भुक्तानी गर्ने बताउँदै आएका छन् । तर, घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा र अहिले मन्त्री हुँदा पनि आफूले २०७५ सालमा काटेको बिल नै प्रमाण भएको भन्दै त्यसअनुसार रकम असुली गर्ने भन्दै आएका छन् ।
यसबीचमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षताको छानबिन आयोगलगायत अनेक अध्ययनहरु, मन्त्रिपरिषद् निर्णयहरु भए पनि समस्या समाधान हुन सकेको छैन ।































प्रतिक्रिया