राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । सरकारले निर्वाचनको वातावरण निर्र्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो ।

उक्त प्रयोजनका निम्ति सरकारले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र दलहरुबीचको वर्ता र संवाद अघि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मङ्गलवार सर्वदलीय बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पाँच घण्टा चलेको बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सरकार र राजनीतिक दलहरुबीच सकारात्मक छलफल भएको हो ।

सर्वदलीय बैठकमा भएका छलफलबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबीचको संवादले निर्वाचनको माहोल बनेको बताए । उनले भने, “सरकार र राजनीतिक दलहरुबीच आज भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारवाला पक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा खासगरी आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने, सुशासन सन्दर्भ र भ्रष्टाचार नियन्त्रणबारे सघन रुपमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए। “निर्वाचनको सन्दर्भमा गहन छलफल भएको छ । निर्वाचनको वातावरणका लागि सरकारले गर्ने कामको अवगत गराइएको छ”, सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले भने, “राजनीतिक दलहरुकोतर्फबाट सूरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो छ, त्यसप्रति सरकार प्रतिवद्धताका साथ लागेको छ । निर्वाचनको लागि वातावरण बनाउन सरकारकोतर्फबाट भइरहेका तयारीबारे दलहरुलाई अवगत गराइएको छ ।”

Skip This
Skip This
Logo