रबी लामीछानेका उग्र समर्थकहरुबाट घेरिएका छन । उनलाई गरीएको समर्थन दिगो समर्थन हो भनेर ढुक्क हुन सक्ने अवस्था छैन । किनभने समर्थनको नाममा तल्लोस्तरको गाली गलौचमा उत्रने समर्थकहरु पिपलपाते हुन्छन । समर्थन गर्दागर्दै कतिवेला पल्टी खान्छन र विरोध गर्न सुरु गर्दीन्छन भन्ने कुरा बुझ्नै कठीन हुन्छ । समर्थकहरुको ठूलो जमातले क्षणभरमै मनस्थीती परिवर्तन गरेका थुप्रै उदाहरणहरु हामी समक्ष छन ।
आलाकाँचा र उग्र समर्थकहरु जो रबीको समर्थन गर्नैक लागि उनका आलोचकहरुलाई धम्की दिन्छन र गाली गलौचमा उत्रन्छन र निम्नस्तरको बैद्दीकता प्रदर्शन गर्दछन भने रबीले बुझ्न ढिलो गर्नु हुदैन की त्यो समुह उनको सानो गल्तीमा सजिलै उनीमाथि त्यसरी नै खनिनेछ र उनकै विरुद्दमा गाली गलौचमा उत्रनेछ ।
समर्थककै कारण लामीछानेको आलोचन सुरु भएको छ । सामाजीक सन्जालबाट उनले समर्थकलाई संयमीत रहन आग्रह गर्नुपरेको छ । के उनले आग्रह गर्दैमा समर्थकहरु धानिएलान त ? त्यहीं उनका अभिव्यक्तिहरु पनि निकै कडा र सरकारी संयन्त्रहरुप्रति निकै निराशाजनक अनि आक्रामक रहदै आएका छन । सरकारी निकायप्रति “सफ्ट हेट स्पिच” किसीमको अभिब्यक्ती लामीछानेको लागि घातक हुन सक्छ । आफु पत्रकार नै नभएको बताउदै यही नेतृत्व रहेसम्म जिन्दगी भरी काउन्सील हातामा छिर्ने छैन भन्ने उनको अभिव्यक्तिले उनका धेरै समर्थकहरुमा काउन्सील खत्तम संस्था हो भन्ने छाप परेको छ ।
एक समय थियो बाबुराम भट्टराईका समर्थकहरु यतीसम्म उग्र थिए कि कोही कतै बाबुरामको विरोध गरीहाल्न सक्ने अवस्थामा हुदैनथ्यो । हेर्दाहेर्दै बाबुरामको समर्थकको लहरो झुण्ड हुँदै सुन्य सम्म झर्यो। पुरानो उग्र समर्थन गर्ने समुह कहाँ छ ? केही उच्च बौद्दीक ब्यक्तीत्वहरु बाबुरामको समर्थनमा देखीन्छन तर जनस्तरमा बाबुरामको चार्म सर्लक्कै घटेको छ।
हाम्रो समाजको मानशिकता छिटै विभाजित हुने किसिमको छ। आज एकजनाको समर्थन गरिरहेको समाज भोलि कसको पक्षमा उभिन्छ भनेर अनुमान लगाउन गाह्रै छ । हिजोसम्म पुज्य भएर ईश्वरको रुपमा स्थापित पात्रहरुलाइ केहि समयको अन्तरालमा रसातलमा पुर्याएका छन् । अनि असामाजीक भनिएका कतिपय तत्वहरुलाई आफ्नो अमुल्य मतदान गरेर सरकारमा समेत पुर्याएका घटनाहरु हाम्रा अगाडि ताजा छन्। लामो समयको अध्ययन गर्नै पर्दैन छोटो अवधि मै पनि धेरै नेपालीहरुले फरक मत प्रस्तुत गरिरहेको र फरक मानशिकता प्रदर्शन गरेको देख्न पाइन्छ । बिचारमा निकै अडिग मान्छेहरु समेत भावनामा बगेर बिचार बदलेका थुप्रै दृष्टान्तहरु देख्न पाइन्छ ।
सामाजिक महत्वका बिषयहरुमा बहस हुँदा नेपाली समाज धेरै अगाडीदेखि नै दुइ मुख्य खेमामा विभक्त हुँदै आइरहेको छ। फरक बिचार ब्यक्त गर्ने तेश्रो धार पनि नभएको होइन तर त्यो धार निकै सानो भएको कारणले “हो वा होइन” अथवा “ठिक या बेठिक” भन्नेहरुको आवाजमा फरक मत राख्नेहरु दबिन्छन अथवा उनीहरुका आवाज मधुरा हुन पुग्छन।
खासगरि भावनामा बगेर धेरै कुराहरुलाई “ठिक देख्ने” दयालु मानशिकता हाम्रो मुख्य समस्या हो । हामीले अहिले समर्थन गरेको बिषयले दीर्घकालमा कस्तो असर गर्छ भन्नेतर्फ नेपालीहरुले गम्भीर भएर कहिल्यै सोचेको पाइदैन त्यसका केहि उदाहरणहरु हेरौं ।
तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवालाइ अक्षम भनेर अपदस्थ गर्दा पनि सुरुवातमा समाज दुइ खेमामा विभाजित भएको थियो । एकाथरि राम्रै राजनैतिक चेत भएका बिबेकशील मान्छेहरुले समेत‘राजाले जे गरे ठिक गरे’माओवादी द्वन्द नियन्त्रण र आम चुनाव गराउन असक्षम र भ्रष्टाचारी नेता लाइ यस्तै हुनु पर्छ भनेर वकालत गरे। त्यो गम्भीर रुपमा सोचेर तर्कसहित दिईएको अभिव्यक्ति थिएन। राजनैतिक नेतृत्व प्रतिको नैराश्यतालाई अभिव्यक्त गरेका थिए जनता हरुले ।
यहाँसम्म कि अहिलेका प्रधानमन्त्री केपी ओलीले समेत महाराज धिराजको कदम ठिक छ भनेका थिए। भावनामा बगेर अभिव्यक्ति दिने समुहको बिपरित केहि व्यक्तिहरु थिए जसले सुरुवात मै राजाले गलत गरे भन्ने अभिव्यक्ति दिए । राजा पनि कानुनको परिधिभित्र बस्नुपर्छ, बिनाकारण निर्वाचित प्रधानमन्त्रीलाई राजाले पदस्त गर्न हुदैनथ्यो भन्नेहरु राजाको बिरोधि खेमा भनेर चिनिन पुगे । दीर्घकालमा राजाको समर्थन गर्नेहरु सहि थिए अथवा राजाको बिरोध गर्नेहरु सहि भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ।
त्यस्तै अर्को घटना भयो नेपालमा। जब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको रुपमा लोकमान सिंह कार्की आए उनले कार्यक्षेत्र मिचेर भटाभट काम गर्दा पनि केहि व्यक्तिहरु लोकमानले राम्रो गरिरहेछन भनेर उफ्रीए । आख्तियारीको दुरुपयोग गरेको कर्मचारीको बारेमा अनुसन्धान गर्ने स्पष्ट संबैधानिक ब्यबस्थालाइ लत्याउदै लोकमान आफ्नो परिधि बाहिर निस्किए।
उनले निजि संस्था, बिश्वबिद्यालय, अस्पताल, डाक्टर, वकिल कसैलाई बाँकी राखेनन्, कर्मचारीले पदको दुरुपयोग गरे नगरेको अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन भनेर आयुक्त बनाइएका लोकमानले आफ्नै पदको चरम दुरुपयोग गरे। त्यो अवस्थामा पनि लोकमानको परिधिको वास्ता नगरी सिङ्गै देशलाई लोकमानले मात्र समस्याबाट मुक्ति दिनेछन अथवा सबै भ्रष्टाचारी जति सबैलाई उनले मात्र तह लगाउन सक्छन भन्ने आशामा उनको पक्षमा आवाज उठाउने यौटा खेमा सक्रिय रहिरह्यो र उनलाई लगातार समर्थ गरिरह्यो ।
भ्रष्टाचारीहरुलाई अब लोकमानले मात्र ठिक पार्नेछन भनेर आशावादी बनेर भावनामा बगेर गरिएको समर्थन थियो त्यो । त्यो समयमा पनि हामीहरु जस्ताको यौटा खेमा चाहिं होइन लोकमान आफ्नो कार्यक्षेत्र बाहिर गएर कारवाहीहरु गरिरहेछन भनिरह्यौं, उनी शक्ति बिस्तार गरेर सरकारको समानान्तर शक्ति बन्न खोजिरहेछन । कर्मचारीको अख्तियारी दुरुपयोगका मुद्दा मात्र अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारि हुँ आफु भन्ने कुरा बिर्षेर उनले आफ्नो परिधि नाघ्न हुँदैन भन्ने यौटा खेमा लोकमान बिरोधि र भ्रष्टाचारीको पक्षपोषकको रुपमा चिनियौं।
हामीहरु न्यायालयलाइ समेत भोलि चुनौती दिनेछन लोकमानले भनेर कराइरह्यौं, कालान्तरमा उनी यति धेरै बिधि बिपरितका काम गर्न थाले कि उनको बिरुद्दमा पुरै नेपाल खनिनु पर्यो । सिङ्गै देश लोकमानको उद्दण्डताको बिरोध गरिरहदा पनि लोकमानप्रति आशावादीहरु प्रसस्तै देखिए। लोकमानलाइ कारवाही गर्नेहरु भ्रष्टाचारी हुन् भनेर अन्तिम सम्म आफ्नो अडान लिईरहे ।
अहिले अमेरिकी पासपोर्ट बाहक भएको आरोप लागेका रबि लामिछाने काण्डमा पनि कोहि भनिरहेछन- ‘उनले राम्रो काम गरेका छन्, दलालको सातो गएको छ, ठगहरु डराएका छन्, चेलीहरुको उद्दार भएको छ त्यसैले उनको राष्ट्रियता खोजिनु उपयुक्त हुँदैन ।’ अर्को खेमा भनिरहेको छ- ‘हो ति सबै कामहरु भई रहेका छन् त्यसैले उनी असल मान्छे हुन् तर उनी पनि नियम र कानुनको परिधिभित्र रहेर काम गर्नुपर्छ नत्र गलत नजिर स्थापना हुन सक्छ र त्यो नजिर प्रत्युत्पादक हुन सक्छ।’
आजको अवस्था कति गम्भीर छ भने सामाजीक संजाल पुरै रबी लामिछानेको समर्थनमा अराजक भएको छ। उनका शुभचिन्तक सामाजिक संजाल प्रयोगकर्ताहरु उग्र रुपमा उनको समर्थनमा उत्रिएका छन् र उनको बचाउ गरिरहेछन।
अब हेरौं समयले के गर्छ, सरसर्ती सामाजीक संजालमा आएका समर्थन र बिरोधका अभिव्यक्तिहरु हेर्दा रबि लामिछानेका बिरोधीहरु खासै आक्रमणमा उत्रिएका छैनन् । उनको कामको कतै बिरोध भएको छैन। केहि व्यक्ति होलान जसले उनको प्रस्तुतिकरणमा देखिने ‘मपाईत्व’ पचाउन नसकेका होलान र उनीहरुले गरेको आलोचनालाइ रबि र उनका समर्थकले “बिरोध” जस्तो देखेका होलान। तर यथार्थ के हो भने आलोचना र बिरोध फरक कुरा हुन्। सापेक्षित् रुपमा गरिएका आलोचनाहरुले सधैं उर्जा प्रदान गर्दछन, तर त्यसलाई ग्रहण गर्ने र बुझ्ने क्षमता भने आलोचित हुनेमा निहित हुने पर्दछ।
केही पत्रकार लगायत सर्वसाधारण जनताले समेत राष्ट्रियताको बचाउ गर्दै रबीले काम गर्न नपाउने अभिव्यक्ति दिए पनि उनीहरु उग्ररुपमा प्रस्तुत भएका छैनन् तर रबी लामिछानेको समर्थनमा उत्रिएको समूह अत्यन्तै उग्र र अन्ध समर्थक भएर आएको देखिएको छ । सामाजीक संजाल चाहार्दा कस्तो लाग्छ भने, के नेपालीहरु नीति नियम र कानुन मान्नै नचाहेका हुन् त ? नत्र सरकारले काम गर्ने अनुमति नबिकरण नै नगरेका लामिछानेको समर्थन केका लागि ? केवल भावनाका लागि ? अब प्रश्न उठ्छ कानुन ठूलो कि भावना ?
कहिलेकाँही भावावेश्मा आएर नेपालमा सैनिक शासन लागे पनि हुन्थ्यो भन्ने बिचार ब्यक्त गर्छन कोही, ‘राजा आउ देश बचाउ’ भन्छन कोहि तर सैनिक शासन लागेपछी के हुन्छ भनेर सोचेर बिचार गरेर ब्यक्त गरिएका अभिव्यक्ति होइनन ति केवल भावनामा बगेर सुशेलिएका कुरा मात्र हुन्।
नियम सबैको लागि यौटै हुनु पर्दछ । यो लेखको आशय कुनै कोणबाट पनि रबी लामिछानेले अहिलेसम्म गरेको काम गलत थियो भन्ने होइन। लामिछाने युनिक हुन्, अशल हुन्, जुझारु हुन्, निमुखाका मसिहा हुन्, आवाज बिहिनका आवाज हुन्, भ्रष्टाचारीका काल हुन्, दुखिका सहारा हुन्, विसंगतिलाइ प्रहार गर्ने संहारक हुन्, समग्रमा लामिछाने एक असल मान्छे हुन् । यी सबैको बाबजुद उनी नियम कानुन भएको देशमा बसोबास गर्ने मान्छे पनि हुन् । आफु बसोवास गरिरहेको देशमा प्रचलनमा रहेको नियम त उनले पनि मान्नै पर्छ।
अर्को कुरा नियम मान्नको लागी अरुले बाध्य गराउने होइन आफ्नो बिबेकले मान्ने कुरा हो। म कुन देशमा छु र यहाँको आधारभूत नियम के हो भन्ने कुरा नबुझ्नु बेग्लै कुरा हो तर नमान्न पाइदैन। त्यसरी कानुन नमानेको खण्डमा मान्ने बनाउने निकाय प्रशासन हो, अब प्रशासनले लामिछानेलाई कानुन अनुसार तपाइको अधिकार यो यो हो भनेर बुझाउन पाउने कि नपाउने ? लेखिएको नियम बिपरित कार्य भईरहेको भेटिएमा प्रशासनले उनलाई ति कामहरु गर्न बन्देज लगाउने कि नलगाउने ?
यहाँ पनि बिचार स्पष्टसंग दुइ खेमामा विभक्त भएको देखिन्छ। एकाथरी भन्छन होइन रबी ठिक गरिरहेछन तसर्थ उनले काम गर्न पाउनु पर्छ, अर्काथरी भनिरहेछन होइन उनले अनुमति पाएका छैनन् त्यसैले उनले काम गर्नु हुँदैन। उनले काम गर्न पाउनुपर्छ भन्ने कुरा उठाउनेहरु सम्पूर्ण रुपमा भावनामा बगेर मात्र भन्दछन ।
नियम कानुन एकातिर छ उनले राम्रो काम गरिरहेछन तसर्थ उनले काम गर्न पाउनुपर्छ भन्ने सबैको मनसाय रहेको देख्न सकिन्छ तर विभाजन केमा देखियो भने केहि उनले यहि अवस्थामा काम गर्न पाउनुपर्छ भन्नेमा अडिग छन् भने केहि होइन कि त नियम परिवर्तन गरेर रबी जस्ता अन्यले पनि काम गर्ने वातावरण निर्माण हुनु पर्यो कि भने रबि पूर्ण रुपमा कागजी प्रक्रिया पुरा गरेर नेपाली भएर मात्र यो काम गर्नु पर्यो। अब यो अवस्थामा कसको माग जायज र कसको माग नाजायज हुन्छ? प्रश्न यहि हो।
अन्त्यमा राम्रो काम गर्नेले स्वतः अनुमति पाउनुपर्ने माग गर्नु पनि गलत हो, राज्यका न्युनतम मूल्य र मान्यताहरुको सबैले सम्मान गर्नु पर्दछ। नेता खराव छन्, नेतालाई किन नियम लाग्दैन। नेतालाई नलाग्ने नियम फलानालाई मात्र किन लाग्ने अथवा लगाउने भए सबैलाई लगाउ नत्र फलानालाई मात्र किन नियम लाग्ने जस्ता तर्कहीन र सजिला अश्त्रहरुले विरोधीलाई प्रहार गर्ने नेपालीहरुको बानी भईसकेको छ।
लामिछाने र उनका सबै समर्थक हरुले “आलोचना र बिरोध” बिचको भिन्नता पनि छुट्याउन सक्नु पर्दछ । नियममा रहेर मात्र काम गर्नु भन्ने सुझावलाइ समेत बिरोध ठान्ने मानसिकता त्याग्नु पर्दछ। उनी राम्रो काम गरिरहेछन, अझै राम्रो गरुन, धेरै भन्दा धेरै मुद्दाहरुलाई समय दिन सकुन र लक्षित् वर्ग लाभान्वित होओस, यो सबै हुनलाइ सबैभन्दा पहिला मिछाने नियमको परिधिमा बस्नु पहिलो आवस्यकता हुन जान्छ होइन र ?
सबैभन्दा ठूलो कुरा नैतिकता हो । झोलामा रगतको पोको बोकेर बिमारी बचाउन हतार हतार अस्पताल तिर हुइकिएको मान्छे राम्रो काम गर्नको लागी गईरहेको हुन्छ। त्यो मोटरसाइकल चालकले हेल्मेट लगाउन पर्छ कि पर्दैन, अथवा त्यस्तो गाडी चालकको लाइसेन्स हुनु आवस्यक छ कि छैन अथवा बिरामी बचाउन रक्तदान गर्न गईरहेको मान्छेले आफ्नो रगत जचाएर आफु स्वस्थ रहेको प्रमाणित गर्नुपर्छ कि पर्दैन ? मेरो भनाइ यत्ति हो ।
यो पनि पढ्नुहोस्































प्रतिक्रिया