काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार भएको बताए ।
उनले भने, ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’
आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए । प्रसाईँले आँफ्नो पक्षमा मिडियाले राम्रो कहिल्यै नलेखेको भन्दै सञ्चारकर्मीहरुसँग गुनासो समेत गरे । कार्तिक १५ गते काठमाडौँमा प्रर्दशन गर्ने तयारी गरेका उनलाई सरकारले वार्तामा बोलाएको छ । गृह मन्त्रालयले वार्तामा बोलाएर जनताको आवाज सुन्ने काम गरेको भन्दै सरकारले राम्रो कदम चालेको समेत उनले बताए ।
प्रसाईंले गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्रेर ल्याएको थियो । सो घटनापछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उनलाई उच्च अदालतले छाड्ने आदेश दिएको थियो। प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाउँदै आईरहेका छन् ।





























प्रतिक्रिया