कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै

कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै

केन्द्रबिन्दु
6
Shares

मुस्ताङ। यहाँको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौँ संस्करण छायाङ्कन चलरहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ।

यसअघि लगातार कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ । यहाँ थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले कबड्डीको पाँचौँ संस्करण पनि थासाङको थाक सात सय क्षेत्रमा छायाङ्कनलाई निरन्तरता दिइएको चलचित्रका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यहाँ चलचित्र कबड्डीको पाँचौँ संस्करण गत असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायाङ्कन सुरु गरिएको पोखरेलले बताए।

रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी पाँचको छायाङ्कन थासाङको कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको निर्माता पोखरेलले जानकारी दिए । यसपटक कबड्डीको पाँचौँ संस्करण थकाली कला, संस्कृति समेट्ने गरी विशेष महत्वका साथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेलको भनाई छ ।

यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टोली आएकामा यसपटक झन्डै १०० बढी जनशक्ति परिचालन भइरहेको छ । सुरुआती चरणभन्दा कबड्डी पाँचसम्म आइपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाइ छ ।

“हामीलाई यो स्थानमा चलचित्रको छायाङ्कनको काम गर्न पाउँदा निकै सहज भएको छ, यहाँका समुदाय सबै आफ्नै परिवारजस्तै भएको छ”, निर्माता पोखरेलले भने, “थकाली कथावस्तु र यहाँका समुदायको मायाप्रेम र स्नेहले पटकपटक यो स्थानमा तानिरहेको छ ।”

मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिए। कबड्डीको पाँचौँ संस्करणमा पुराना कलाकारसहित नयाँ कलाकारको संग्लनता रहेको खनालको भनाइ छ ।

चलचित्रमा दह्याङ राई, बुद्धि तामाङ, विजय बराल, रेश्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान र प्रमिला राईलगायतका कलाकारको अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिए ।

चलचित्रका मुख्य पात्र दह्याङ राई काजीको भूमिकामा हुनुहुन्छ । थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसँग जोडिएको छ । थकाली काजीको जीवनमा आइपर्ने आरोहअवरोहलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताए। नायकको भूमिकामा वीरकाजी शेरचन, काजीको भूमिकामा दह्याङ रहेको उनले जनाए।

कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायाङ्कन निरन्तर रहनु दर्शकहरूको माया र यहाँका समुदायका माया तथा विश्वासको प्रतिफल रहेको उल्लेख गरे। काजीकी आमाको भूमिकामा रहनुभएका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायको उद्गमस्थल थासाङ क्षेत्रमा छायाङ्कन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताए। कबड्डी एक र दुईमा अभियन गरिसकेकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताइन् ।

यसैगरी चलचित्रमा मैयाँको भूमिकामा रहेकी रेश्मा गुरुङले यहाँको नाउरीकोटमा मैयाँको होटल भनेर परिचित रहेकामा गर्व लागेको बताइन्। यो स्थानमा कबड्डीका छायाङ्कनले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको गुरुङको भनाइ छ ।

Skip This
Skip This
Logo