बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुनथालेपछी गाउँपालिकाद्वारा निगरानी गर्न थालिएको छ । देशकै दुर्गम पालिकाको रुपमा रहेको हिमालीमा बहुमुल्य जडिबुटी पाईने गरेको छ ।
पालिकाको उच्च हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडीबुटीहरु अवैध रुपमा चोरी निकासी हुने गरेको पाइएकोले गाउँपालिकाले निगरानी थालेको गाउँपालिकाले जनाएको छ । पालिकाको वडानम्बर १ र ३ का विभिन्न ठाउँमा पाईने जडीबुटीहरु अनियमित तरिकाले उत्खलन गरी चोरी हुने गरेको छ । चोरी निकाशी भएको पाईएपछि गाउँपालिकाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै निगरानी गर्न सम्पुर्णमा आग्रह गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचनामा जडिबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व संकलनकालागि सहजीकरण गर्न आग्रह गरिएको छ । गाउँपालिकाको असोज १० गते बसेको कार्यपालिका बैठकले जडीबुटीको निगरानी गर्न सम्पुर्ण वडा कार्यालयलाई आग्रह गरेको हो। गाउँपालिकाका विभिन्न ठाउँमा सेता चिनी, जटामसी, सतुवा,चिराइतो, रातो च्याउ, पाँचऔले,लसुन,गुच्चीच्याउ,पदमचाल,कटुकीपाँचऔले,भुल्ते,समय,बाजडी,गदाल्नो लगायत थुप्रै प्रकारका जडिबुटी पाईने गरेका छन्।
त्यस्तै कतिपय नामले नै नचिनिने जडिबुटी वनजङ्गलमा जताततै पाईने गरेका छन्। पछिल्लो समय गाउँपालिकाका विभिन्न जङ्गलबाट बहुमुल्य जडीबुटी चोरी हुनथालेपछि जडिबुटीको उत्पादनमा गिरावट आउँदै गएको छ । अवैध तरिकाले उत्खलन गरेर चोरी निकासी हुन थालेपछि जडीबुटीहरु लोप हुदैँ गएको छ ।
यहाँका स्थानीयको मुख्य पेशाजडीबुटी संकलन र पशुपालनहो। जडीबुटीव्यवसायबाट राम्रो आम्दानी गरिरहेका यहाँका स्थानीयलाई पछिल्लो समय जडीबुटीको चोरी निकासी बढेपछि संकलनमा समस्या हुँदै आएको छ । जडीबुटीबाटै यहाँका विभिन्न वडाहरुले लाखौं राजस्व संकलन गर्ने गरेकोमा त्यसमा पनि कमी आएको हो ।































प्रतिक्रिया