काठमाडौं
अब केहि दिनमै विश्वकपको प्रतिक्षा सकिदैंछ । यसका बारेमा धेरैले धेरै अनुमान लगाइरहेका छन् भने कतिपयले त होडबाजी नै शुरु पनि गरेका छन् । सर्मथक टिमका जर्सी लगाएर विश्व बजार नै तताउनेहरु पनि छन् । त्यसो भए के उनीहरुले यो कुरा बुझेका छन् कि बिश्वकप जित्ने र भाग लिने हरेक टोलीले कति पुरस्कार पाउने छन् ?
फिफाले यस पटकको प्रतियोगिताको कुल पुरस्कार राशी ४ सय मिलियन अमेरिकी डलर हुने घोषणा गरिसकेको छ । तर यो बिजेताले मात्र पाउने भने होइन । यो रकम प्रतियोगितामा भाग लिने सबै ३२ वटा टोलीले पाउने छन् । सबै खेल हारेर पहिलो चरणबाटै बाहिरिने टोलीले पनि केहि न केहि पुरस्कार रकम पाउने छ ।
समूह चरणको खेल सकिएपछि समुह चरणबाट नै बाहिरिने टोलीले समान ८ मिलियन डलर पाउने छन् । जम्मा १६ टोलीले ८ मिलियन डलर पाउँदा १२८ मिलियन डलर खर्च हुन्छ । त्यस्तै अन्तिम १६ पुग्ने तर क्वाटरफाइनलमा नपुग्ने ८ टोलीले समान १२ मिलियन डलर पाउने छन् । यसरी ८ टोलीले १२ मिलियन डलरका दरले पाउँदा ९६ मिलियन डलर खर्च हुन्छ ।
त्यस्तै क्वाटरफाइनल पुग्ने तर सेमिफाइनलमा नपुग्ने ४ टोलीले समान १६ मिलियन डलर पाउने छन् । यसरी ४ टोलीले पाउने रकम ६४ मिलियन डलर हुन्छ । बाँकि रहेको १ सय १२ मिलियन डलर सेमिफाइनलमा खेल्ने ४ टोलीले पाउने छन । यो रकम पहिलो , दोस्रो , तेस्रो र चौथो हुने टिमलाई भाग लगाइने छ । जस अनुसार चौथो हुने टोलीले २२ मिलियन डलर तथा तेस्रो हुने टोलीले २४ मिलियन डलर पाउने छ ।
त्यस्तै उपाधि जित्ने टोलीले ३८ मिलियन डलर पाउने छ भने उप बिजेताले २८ मिलियन डलर पाउने छ । यस बाहेक फिफाले हरेक टिमलाई प्रतियिगिता तयारी खर्च भनेर प्रति टिम डेढ मिलियन डलर दिईसकेको छ । त्यस्तै बिश्वकपमा खेल्ने खेलाडी रिलिज गरिदिए वापत खेलाडी आबद्द क्लबका लागि फिफाले कुल २०९ मिलियन डलर छुट्याएको छ ।
यसैगरि क्लब प्रोटेक्सन प्रोग्राम अन्तर्गत क्लबमा आबद्द खेलाडी घाइते भएमा त्यस वापत क्लबहरुलाई दिनको लागि फिफाले कुल १३४ मिलियन डलर बजेट राखेको छ । यसरी खेलाडी र क्लबलाई गरि वितरण गरिने कुल रकम ७ सय ९१ मिलियन डलर हुन आउछ । जुन पछिल्लो प्रतियोगिता भन्दा ४० प्रतिशतले बढी हो । सन् २०१४ मा बिजेता र उप बिजेताले क्रमश ३५ र २५ मिलियन डलर पाएका थिए ।































प्रतिक्रिया