काठमाडौं । कलेजोको क्यान्सरलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । यो रोगले प्रारम्भिक चरणमा कुनै स्पष्ट लक्षणहरू देखाउँदैन, जसले गर्दा यसको निदान ढिलो हुन्छ र उपचार पनि निकै जटिल बन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कलेजोको क्यान्सर विश्वव्यापी रूपमा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारणहरू मध्ये एक हो, जसमा वार्षिक रूपमा करिब ९ लाखभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन् ।
मुख्यतया, हेपाटाइटिस बी र सी जस्ता संक्रमणहरू, अत्यधिक मदिरापान, मोटोपन र फ्याटी लिभर जस्ता कारकहरूले यस रोगलाई बढावा दिन्छन् । तर सुखद् कुरा के छ भने, यदि प्रारम्भिक लक्षणहरूलाई समयमै पहिचान गरेर चिकित्सकीय सल्लाह लिन सकियो भने, यसको सफल उपचार पनि सम्भव छ ।
सर्वप्रथम कलेजोको क्यान्सर भनेको के हो ? र यसलाई किन यो साइलेन्ट किलर भनिन्छ भनेर जानौँ– कलेजो शरीरको सबैभन्दा ठूलो अङ्ग हो, जसले रगत फिल्टर गर्ने, पोषक तत्त्वहरू अवशोषित गर्ने, विषाक्त पदार्थहरू निकाल्ने र मेटाबोलिजम नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण कार्यहरू गर्दछ । कलेजोको क्यान्सर मुख्यतया हेपाटोसेलुलर कार्सिनोमा रूपमा देखिन्छ, जसमा कलेजोका कोषहरूमा डीएनए म्युटेसनहरूका कारण अनियन्त्रित वृद्धि हुन्छ । प्रारम्भमा यो रोग लक्षणरहित रहन्छ किनकि कलेजोले आफ्नो ७० प्रतिशत भाग क्षतिग्रस्त भएपछि मात्र लक्षणहरू देखाउँछ । जसले गर्दा, धेरैजसो केसहरूमा निदान हुँदा रोग उन्नत चरणमा पुगिसकेको हुन्छ । तर यदि तपाईंमा निम्न लक्षणहरू देखिएका छन् भने, यो कलेजोको स्वास्थ्यमा समस्या भएको संकेत हुन सक्छ ।
१, पेटमा असहजता वा दुखाइ
कलेजोको क्यान्सरको सबैभन्दा सामान्य प्रारम्भिक लक्षण हो पेटको माथिल्लो दाहिने भागमा दुखाइ, भारीपन, सुन्निने वा तनाव महसुस हुनु । ट्युमर बढ्दै जाँदा कलेजोको आकार बढ्छ, जसले वरपरका तन्तुहरू, अङ्गहरू र डायफ्राममा दबाब पर्छ । यसले गर्दा दुखाइ दाहिने काँध वा पिठ्यूँसम्म फैलिन सक्छ । मेयो क्लिनिकका अनुसार, यो लक्षणलाई प्रायः ग्यास्ट्रिक समस्या, अपच वा मांसपेशी दुखाइ ठानेर बेवास्ता गरिन्छ । तर यदि यो दुखाइ लगातार रहन्छ वा बढ्दै जान्छ भने, यो कलेजोमा ट्युमरको संकेत पनि हुन सक्छ । विशेष गरी, यदि तपाईंमा हेपाटाइटिस वा सिरोसिस जस्ता पूर्ववर्ती रोगहरू छन् भने यो लक्षणलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
२. लगातार थकान र कमजोरी
कलेजोको क्यान्सरले शरीरमा गहिरो थकान र कमजोरी निम्त्याउँछ, जुन सामान्य थकानभन्दा फरक हुन्छ । आराम गरेपछि पनि यो थकान नहट्नु यसको विशेषता हो । कलेजोले ऊर्जा उत्पादन, मेटाबोलिजम र विषाक्त पदार्थहरूको निष्कासनमा महत्वपूर्ण भूमिका खेल्छ । जब कलेजो नै प्रभावित हुन्छ तब शरीरमा टक्सिनहरू जम्मा हुन्छन् र पोषक तत्वहरूको अवशोषण घट्छ, जसले मांसपेशीहरू कमजोर बनाउँछ । क्यान्सर रिसर्च यूकेका अनुसार, यो थकान फ्याटिगको रूपमा देखिन्छ र दैनिक जीवनलाई प्रभावित गर्छ । यदि तपाईंलाई बिनाकारण सुस्ती लागिरहेको छ भने, रक्त परीक्षणबाट कलेजोको कार्यक्षमता जाँच गर्नु उचित हुन्छ ।
३. दिसा वा पिसाबमा परिवर्तन
कलेजोले पित्त रस उत्पादन गर्छ, जसले दिसालाई रङ दिन्छ र विषाक्त पदार्थहरू निकाल्छ । तर कलेजोको क्यान्सर हुँदा दिसाको रङ हल्का, सेतो वा माटोजस्तो हुन सक्छ किनकि पित्त रसको कमी हुन्छ । त्यस्तै पिसाबको रङ गाढा पहेँलो, खैरो वा रातो हुन सक्छ किनकि बिलिरुबिन रगतमा बढ्छ र पिसाबमार्फत बाहिरिन्छ । क्लीभल्यान्ड क्लिनिकका अनुसार, यो परिवर्तन जन्डिससँग जोडिएको हुन्छ, जसमा छाला र आँखा पहेँलो हुन्छन् । यदि यस्ता परिवर्तनहरू देखिए भने, यो कलेजोको ब्लकेज वा डिसफंक्शनको संकेत हो र तुरुन्त अल्ट्रासाउन्ड वा सीटी स्क्यान आवश्यक पर्छ ।
४. बिनाकारण ज्वरो वा तापक्रम वृद्धि
कलेजोको क्यान्सरमा शरीरको प्रतिरक्षा प्रणालीले ट्युमरविरुद्ध प्रतिक्रिया गर्दा हल्का वा लगातार ज्वरो आउँछ । यो ज्वरो सङ्क्रमण वा फ्लूजस्तो नभई, कुनै स्पष्ट कारणबिनाको हुन्छ । मेयो क्लिनिकले यसलाई ‘परानेप्लास्टिक सिन्ड्रोम’ सँग जोडेको छ, जसमा क्यान्सरले शरीरमा रसायनहरू उत्सर्जन गर्छ जसले ज्वरो निम्त्याउँछ । यदि ज्वरो १०० दशमलब ४ डिग्री सेल्सियसभन्दा बढी छ र यो प्रकृया एक हप्ताभन्दा लामो समयसम्म रहन्छ भने, यो तपाईको चिन्ताको विषय हो ।
५. भोक नलाग्ने र अनपेक्षित तौल घट्नु
अचानक भोक कम लाग्नु र बिनाप्रयास तौल घट्नु कलेजोको क्यान्सरको प्रमुख लक्षण हो । यसबाहेक, कलेजोको खराबीले मेटाबोलिजम प्रभावित हुन्छ र पोषण अवशोषण घट्छ । क्यान्सर रिसर्च यूकेका अनुसार, यो लक्षण ४० प्रतिशतभन्दा बढी केसहरूमा देखिन्छ र प्रायः अनदेखा गरिन्छ । यदि एक महिनामा ५ प्रतिशतभन्दा बढी तौल घटेको छ भने, यो गम्भीर संकेत हो ।
यी पाँचबाहेक, कलेजोको क्यान्सरमा थप लक्षणका रुपमा छाला र आँखा पहेँलो हुनु(जन्डिस), वाकवाकी वा उल्टी हुनु, पेट सुन्निनु, छाला चिलाउनु र सजिलै चोट लाग्ने वा रक्तस्राव हुनुलगायतक लक्षणहरू बढी देखिन्छन् ।
अब जानौँ को हुन्छन् बढी प्रभावित ? कलेजोको क्यान्सर मुख्यतया कलेजोको दीर्घकालीन क्षतिसँग जोडिएको हुन्छ । जहाँ हेपाटाइटिस बी वा सी संक्रमण भएका, मदिरापानबाट कलेजोमा स्कार टिस्यू बन्नु अर्थात सिरोसिस भएका, मधुमेह र मोटोपन भएका, एफ्लाटक्सिन भएका, आनुवंशिक रोगहरू जस्तै हेमोक्रोमाटोसिस भएका र अत्यधिक मदिरापान गर्ने मानिसहरु कलेजोको क्यान्सरबाट बढी प्रभावित हुन्छन् ।
हामीले कलेजे क्यान्सरका कारण बढी प्रभावित हुन सक्ने मानिसहरुका बारेमा थाहा पायौं अब हामी तपाईंलाई कलेजोको क्यान्सरको कसरी निदान हुन्छ र उपचार विधि के हो त भनेर बताउनेछौं । कलेजो क्यान्सरको निदानका लागि सर्वप्रथम रक्त परीक्षण गर्नुहोस्, अल्ट्रासाउन्ड, सीटी/एमआरआई स्क्यान गर्नुहोस् र बायोप्सी गर्नुहोस्।
सर्वप्रथम हेपाटाइटिस बी खोप लिनुहोस्, हेपाटाइटिस सीको लागि सुरक्षित यौन सम्बन्ध र सफा सुई प्रयोग गर्नुहोस्, मदिरा सीमित गर्नुहोस् वा छोड्नुहोस्, स्वस्थ तौल कायम राख्नुहोस् नियमित व्यायाम र सन्तुलित आहार खानुहोस्, सिरोसिस भएकाहरुले हरेक ६–६ महिनामा अल्ट्रासाउन्ड स्क्रिनिङ गर्नुहोस् र ट्याटु वा पियर्सिङ खोप्दा सफा उपकरणहरू प्रयोग गर्नुहोस्।































प्रतिक्रिया