चितवन
नारायणगढ मुग्लिङ सडकको ३३ दशमलव २५३ मिटर सडक चौडा गर्ने काम अन्तिम चरणमा पुगे पनि उक्त सडकमा आम नागरिकले सोचेको जसरी गाडी गुढ्न अझै वर्षौँ लाग्ने देखिएको छ । सडक विस्तारसँगै सो खण्डमा रहेका १४ वटै पुललाई ११ मिटर र नौ मिटर चौडा बनाउनको लागि ठेक्का लगाउनु पर्नेमा तत्कालीन सरकारले समयमा ध्यान दिन नसक्दा ११ मिटरको सडकमा ६ मिटरका मोटरेबल पुलले गाडीको गति र क्षमतालाई धान्नुपर्ने अवस्था छ । अर्को महिना देखि सडकमा निर्धक्क साथ गाडी गुड्न सक्ने अवस्था भए पनि पुल आएपछि गाडीहरु रोकिनुपर्ने समस्या यथावत रहनेछ ।
यसले दुर्घटना समेत बढाउने खतरा छ । ‘सडक विस्तारको काम त अन्तिम चरणमा पुगेको छ तर सडक अनुसार पुल नहुँदा ठाउँ–ठाउँमा गाडी रोकिनु पर्ने समस्या अझै पनि आउने देखिन्छ’, नारायणगढ–मुग्लिङ सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भने, ‘समयमै सबै पुललाई सडक जत्तिकै चौडा गर्न ठेक्का दिन नसकेको कारण पुलको मुखमा गाडीहरु थुप्रिने अवस्था सिर्जना भएको हो । अब सबै पुल चाँडै बनाउने प्रक्रियामा सरकार गएको छ ।’
नेपालकै लाइफलाइन भएको कारण उक्त सडकमा नेपालका अन्य सडकमा भन्दा धेरै गाडी गुड्छ । सडक विस्तारको कारण गाडीको गति अत्यन्त तीव्र हुनेछ । तीव्रगतिको गाडी साँघुरा पुलमा पुगेर रोकिएर मात्र पार हुनुपर्ने अवस्था छ । दुईवटा ठूला गाडीहरु नरोकिई पार हुनको लागि कम्तीमा सात मिटर चौडा पुल चाहिन्छ । तर अधिकांश पुलहरु ६ मिटर चौडा मात्र भएको कारण ठूला–ठूला गाडीहरु एकैचोटि पुल पार गर्नसक्ने अवस्था छैन । साना र ठूला गाडीहरु एकै पटक पुलबाट पार हुनसके पनि ठूला गाडीहरु एकैचोटि पार गर्दा समस्या आउने गरेको छ ।
अझै अहिले सडक विस्तार भएपछि गाडीको गति असीमित हुन पुगेको छ । नौ र ११ मिटरको सडक जत्तिकै गाडीको गती ६ मिटरका पुलमा पनि हुने हुँदा दुर्घटनाको जोखिम बढेको हो । सरकारले १४ मध्ये चार वटा पुलको निर्माण सुरु गरे पनि अरु १० वटा पुल निर्माणको लागि ठेक्का समेत निकाल्न सकेको छैन । बाँकी पुल निर्माणको लागि लगानी गरिदिन सरकारले विश्व बैंकसँग अनुरोध गरे पनि त्यसको फाइनल भएको छैन । उक्त सडक विस्तार पनि विश्व बैंककै सहयोगमा भइरहेको हो । विश्व बैंकले सरकारको अनुरोध स्वीकार गरेर पुलको ठेक्का गर्न नै अझै महिनौं लाग्छ । त्यसपछि पुल निर्माणमा वर्षौ लाग्नेछ । सोही कारण उक्त सडकमा सबै ठाउँमा एकै गतिमा गाडी गुड्न वर्षौ कुर्नु पर्ने अवस्था आएको हो । यो सडक निर्माण विगत ४ वर्ष देखि निर्माणाधिन अवस्थामै छ । जसले गर्दा यात्रीहरुले समस्या झेल्दै आइरहेका छन् ।
आर्थिक दैनिकबाट





























प्रतिक्रिया