काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ । यो आर्थिक वर्ष २०७४/७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्त सम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताए ।
आयोगले ४ हजार १६६ उजुरीलाई तामेलीमा राखेको उनले बताए । तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उनको भनाई छ । ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ,’ उनी भन्छन् –‘त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’ तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहचिब दंगालले जानकारी दिए ।
आयोगले यस आर्थिक वर्षमा जम्मा १६ हजार ८ सय ८ वटा उजुरीहरु आयोगमा परेको जनायो । जसमध्ये अघिल्लो आर्थिक वर्षको यस वर्ष सरेको उजुरी संख्या ७ हजार ७ सय १९ र यस वर्षको मात्रै ९ हजार ८९ वटा उजुरी रहेको छ । ती उजुरीहरु मध्ये ८ हजार ३ सय १० उजुरी प्रारम्भिक अनुसन्धानबाट फच्र्यौट भएको छ भने ४९ दशमलब ४४ प्रतिशत उजुरी फच्र्यौट भएको आयोगको दाबी छ ।
प्रारम्भिक अनुसन्धानबाट फच्र्छौट भएका उजुरीहरु मध्ये ४ सय १३ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको, ४ हजार १ सय ६६ उजुरी तामेलीमा गएको र ३ हजार ७ सय ३१ उजुरी अन्य आवश्यक कारबाहीका लागि पठाईएको आयोगले जनाएको छ । त्यस्तै यस आर्थिकवर्ष भित्र अनुसन्धान पछि विशेष अदालतमा १ सय १९ वटा मुद्दा दायर भएको छ । आयोगले २ सय ६८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि मुद्दा हाल्दै १० अर्व ४६ करोड ६४ लाख ४५ हजार ५ सय ६९ रुपियाँ विगो माग दाबी गरेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया