काठमाडाैं । तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै १-० को अग्रता लिएको छ।
फैसलाबादको इकबाल स्टेडियममा भएको पहिलो एकदिवसीय खेलमा अन्तिम ओभरको अन्तिम बलहरूमा पाकिस्तानले दक्षिण अफ्रिकाले दिएको २६४ रनको लक्ष्य पछ्याएको थियो।
टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गर्दै क्विन्टन डी ककको उत्कृष्ट प्रदर्शनमा बलियो सुरुवात गर्यो। डी ककले मात्र ७१ बलमा ८३ रनको शानदार अर्धशतकीय पारी खेले। अर्का प्रारम्भिक ब्याट्सम्यान लुआन-ड्रे प्रेटोरियसले पनि ५७ रनको योगदान दिए।
तर, यी दुईको ९८ रनको साझेदारी टुटेपछि दक्षिण अफ्रिकाको मध्यक्रम धराशायी भयो। कप्तान म्याथ्यु ब्रिट्ज्केले ४२ र कर्बिन बोशले आक्रामक ४१ रन बनाए पनि टोली निर्धारित ५० ओभर खेल्न सकेन र ४९.१ ओभरमा २६३ रनमा अल आउट भयो।
पाकिस्तानका लागि युवा बलर अबरार अहमद र अनुभवी नसिम शाहले सानदार बलिङ गर्दै ३-३ विकेट लिएर दक्षिण अफ्रिकालाई ठूलो स्कोर बनाउनबाट रोके। साइम अयुबले पनि २ विकेट लिए।
२६४ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई ओपनर फखर जमान ४५ रन र साइम अयुब ३९ रनले राम्रो सुरुवात दिलाए। यद्यपि, मध्यक्रममा कप्तान बाबर आजम सस्तैमा आउट भएपछि दबाब सिर्जना भएको थियो।
त्यसपछि अनुभवी विकेटकिपर मोहम्मद रिजवान र सलमान अली आगाले पारी सम्हाले । रिजवानले ५५ रन बनाए भने सलमान अली आगाले महत्वपूर्ण ६२ रनको अर्धशतकीय पारी खेल्दै पाकिस्तानको जितको आधार तयार पारे। अन्तिममा, २ बल बाँकी छँदै ८ विकेट गुमाएर पाकिस्तानले २६४ रनको लक्ष्य सफलतापूर्वक भेट्टाएकाे हाे ।
यस जितसँगै घरेलु टोली पाकिस्तानले ३ खेलको एकदिवसीय शृङ्खलामा १-० को अग्रता लिएको छ।































प्रतिक्रिया