काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीसमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
आज दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । उनले ६८ बलमा ४ चौका प्रहार गरे तर अर्धशतकबाट चुके । यता अलराउन्डर कुशल मल्लले ५१ बल खेल्दै ४५ रनको योगदान दिए।
यसका साथै, दीपेन्द्र सिंह ऐरीले ४३ बलमा १ छक्कासहित ३७ रन र आरिफ शेखले ५४ बलमा ३० रन बनाएर टिमको स्कोर उकासे। नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनर कुशल भुर्तेल २ रन र आसिफ शेख ३४ रन आउट भए । कप्तान रोहित पौडेल पनि २ रनमा पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो।
यूएईका तीव्र गतिका बलर जुनैद सिद्धिक, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले समान २ विकेट हात पारे ।
अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ । यो खेल दुवै टोलीका लागि लिग–२ को अंक तालिकामा सुधार गर्ने महत्त्वपूर्ण अवसर हो।
जितविहीन नेपालले आज लिग–२ को युएई यात्रालाई सुखद अन्त्य दिने लक्ष्य लिएको छ। यसअघि भएको पहिलाे खेलमा युएईले नेपाललाई हराएको थियो, भने नोभेम्बर १ मा अमेरिकासँग पनि दुवै खेलमा हार बेहोर्यो। यसरी, नेपालको हालको फर्म कमजोर छ ।































प्रतिक्रिया