काठमाडौं । हाम्रो भान्सामा उपलब्ध तरकारीहरूमध्ये करेला एक यस्तो तरकारी हो जसको स्वाद तितो भएपनि यसले स्वास्थ्यलाई प्रदान गर्ने लाभहरू असीमित छन् । दैनिक रूपमा करेलाको जुस सेवन गर्दा शरीरलाई आवश्यक पोषक तत्वहरू प्राप्त हुन्छन् ।
करेलाको जुसमा कुन–कुन पोषक तत्वहरू पाइन्छन् ?
करेला पोषक तत्वहरूको खानी हो । प्रति १०० ग्राम काच्चो करेलामा २१ ग्राम क्यालोरी, ४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर र न्यून बोसो पाइन्छ । यसमा भिटामिन सीको मात्रा दैनिक आवश्यकताको ९९ प्रतिशतसम्म पुग्न सक्छ, जसले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । यसबाहेक, करेलामा पोटासियम, जिंक, आइरन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, एन्टिअक्सिडेन्ट, क्याटेचिन, ग्यालिक एसिड, एपिक्याटेचिन र क्लोरोजेनिक एसिड पनि प्रशस्त पाइन्छ । करेलाको जुस पिउँदा माथी उल्लेख गरिएका तत्वहरूले शरीरको मेटाबोलिज्म सुधार्न मद्दत गर्छन् र ऊर्जा पनि प्रदान गर्छन् । उदाहरणका लागि, दैनिक एक गिलास करेलाको जुसले भिटामिन सीको ८७ प्रतिशत आवश्यकता पूरा गर्न सक्छ, जसले चोटपटकबाट छिटो निको हुन मद्दत गर्छ ।
करेला जुस सेवनका फाइदाहरू
करेलाको जुसलाई प्राकृतिक औषधि पनि मानिन्छ । विभिन्न अध्ययनहरूले यसका फाइदाहरू प्रमाणित गरेका छन् । त्यसमध्ये हामी तपाईलाई केही प्रमुखका बारेमा बताउँनेछौं । यदि तपाईलाई सुगर अर्थात चिनी रोग छ भने करेलाको जुसले तपाईको चीनीको मात्रा नियन्त्रणमा सहयोग गर्छ । करेला टाइप २ मधुमेहका लागि रामवाण नै हो । यसमा रहेको चारान्टिन र पोलिपेप्टाइड–पी जस्ता तत्वहरूले प्राकृतिक इन्सुलिनको रूपमा काम गर्छन् र ग्लुकोजको उपयोगलाई सुधार्छ । एक अध्ययनमा २० जना मधुमेहका बिरामीहरूलाई दैनिक २ हजार मिलिग्राम करेला दिँदा १२ हप्तामै हेमोग्लोबिन ए१सी स्तर घटेको पाईएको थियो । त्यसैगरी मिर्गौलाको स्वास्थ्य सुधार्न पनि करेलाको जुस निकै उपयोगी हुन्छ । करेलाको जुसको सेवनले शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ र मिर्गौलालाई सफा गर्छ ।
तर, यदि तपाईलाई पहिले देखि नै मिर्गौलाको समस्या छ भने चिकित्सकसँग सल्लाह लिएर मात्रै करेलाको जुसको सेवन गर्नुहोला । यसैगरी करेलाको जुस छालाको लागि पनि जादुमयी हुने गर्छ । करेलाको जुसमा पाईने एन्टिअक्सिडेन्टहरूले फ्री रेडिकलहरूबाट छालालाई जोगाउँछन्, जसले फुस्रोपन र बुढ्यौलीलाई पनि रोक्छ । करेलाको जुसमा प्रो–भिटामिन ए हुन्छ जसले छालालाई उज्यालो बनाउनुका साथै घाउ तथा चोटपटक पनि छिटो निको पार्छ । यस्तै करेलाको जुस तौल घटाउन पनि निकै सहयोगी हुन्छ । करेलाको जुसमा कम क्यालोरी र उच्च फाइबर हुने भएकाले भोक कम लाग्छ र मेटाबोलिज्म पनि बढाउँछ । त्यसैगरी करेलाको जुसको अन्य फाइदाहरूमा क्यान्सरको रोकथाम, कोलेस्टेरोल र रक्तचाप कम, एन्टिमाइक्रोबियल गुण र मानसिक स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्छ ।
करेलाको जुस फाइदाजनक भएपनि अत्यधिक सेवनले समस्या पनि निम्त्याउन सक्छ । जसमध्ये हामीले तपाईलाई केही प्रमुखका बारेमा बताउनेछौं । करेलाको जुसको अत्यधिक सेवनले तपाईको पेट दुख्ने, पखाला, बान्ता वा ग्यास हुने रगतमा चिनीको मात्रा कम हुने, टाउको दुख्नेलगायतका समस्याहरु देखा पर्न सक्छन् । तसर्थ तपाईले दैनिक खाली पेटमा १०० देखि २०० मिलिग्राम अर्थात एमएल भन्दा बढी करेलाको जुस सेवन नगर्नुहोला । तर यो प्रकृया पनि ४ महिनाभन्दा बढी नगर्नुहोला ।





























प्रतिक्रिया