काठमाडौं । नमोनिया केवल नेपालमामात्र होइन, संसारभरि नै बढ्दो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार, यो रोग हालसम्म पनि ज्यानको जोखिम बढाउने टपपाँच रोगमध्ये पर्दछ । भ्याक्सिन र उपचारले मृत्यु दर कम गरेको भएपनि, रोगको मात्रा पहिले जस्तै धेरै छ । हाम्रो शरिरमा जति प्रतिरक्षा प्रणाली कम हुन्छ, त्यति नै निमोनियाको सम्भावना बढ्छ ।
आज विश्व निमोनिया दिवस । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिखको दिन संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ । सोही अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्व निमोनिया दिवस मनाइँदै छ ।
संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनसुकै ठाउँमा जन्म किन नलियोस्, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नै पर्छ भन्ने विशेष सोचलाई मध्यनजर गरेर विश्व निमोनिया दिवस मनाइन थालिएको हो ।
यसै सन्दर्भमा हामीले छाती तथा फोक्सो रोग विशेषज्ञ डा.नीरज पुरीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।
निमोनिया भनेको के हो ?यो रोग के कारणले र कसरी हुन्छ?
निमोनिया एउटा इन्फेक्सन हो, जुन सर्ने रोगको श्रेणीमा पर्दछ । सामान्यतया सानो बच्चा र वृद्धहरूमा यो रोग बढी देखिन्छ, तर अहिले संसारका सबै उमेर समूहमा देखा पर्ने रोग बन्न पुगेको छ । निमोनिया खासगरी फोक्सोको इन्फेक्सन हो । फोक्सोमा एयर स्याकजस्ता स–साना संरचनाहरू हुन्छन्, जसलाई अल्भियोलाई भनिन्छ । यी अल्भियोलामा इन्फेक्सन हुनु नै निमोनिया हो ।यो रोग ब्याक्टेरिया, भाइरस वाफङ्गस (ढुसी)का कारणले हुन सक्छ । खासगरी शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरू मानिमोनियाले गम्भीर असर पु-याउन सक्छ ।
भाइरल संक्रमणहरू एक व्यक्तिबाट अर्कोमा सर्न सक्छन्, भने ब्याक्टेरियल संक्रमणप्रायः समुदायबाट सर्छ। साथै, केही अवस्थामा अस्पताल वा स्वास्थ्य सेवा केन्द्रमा पुगेपछि पनि मानिसमा संक्रमण सर्न सक्छ । निमोनिया केवल सानो संक्रमणजस्तो देखिएपनि यसले अन्य रोग निम्त्याउन सक्छ र कहिलेकाहीँ ज्यानको जोखिम समेत हुन सक्छ । त्यसैले सचेत रहनु र समयमै उपचार गराउनु अत्यावश्यक छ ।
निमोनियाका लक्ष्यणहरु के–के हुन् ?
निमोनियाका मुख्य लक्षणहरुमा खोकी लाग्ने, श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउने धेरैलाई हुन्छ । अब, हाम्रो सिटी, एक्स–रे गर्दा खेरि फोक्सोमा दाग देखिने र रगतको जाँचगर्दा खेरि डब्लुबीसी काउन्ट, इन्फेक्सनको लेभल बढ्ने, मेन लक्षण यिनै हुन्।
यो रागबाट बच्ने उपाय के–के हुन् ?
संसारभरीनै निमोनियासँग बच्ने नम्बर वान कुरा भनेको आफूलाई सुरक्षित राख्न मास्क लगाउने, हात सफा राख्ने, स्यानिटाइजर प्रयोग गर्ने र दोस्रो एकदमै महत्त्वपूर्ण कुरा भनेको चाहिँ सम्बन्धित व्यक्तिहरूले भ्याक्सिन लगाउने हो ।
सम्बन्धित व्यक्ति भन्नाले जसको इम्युनिटी कम छ, जसको उमेर धेरै छ, जसलाई फोक्सोको रोग छ, सुगर अन कन्ट्रोल छ, किड्नीका पेसेन्टहरू हुन्छन्, उहाँहरूले निमोनियासँग बच्ने भ्याक्सिन लगाउनुभयो भने संसारभरि बच्ने उपाय यिनै हुन् ।
कुन उमेर समूहको व्यक्तिलाई बढी निमोनिया हुन्छ?
निमोनिया सबै उमेर समुहका मानिसलाई हुन्छ । सानो, ठूलो, ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ । तर एकदमै धेरै देखिने भनेको पाँच वर्षभन्दा सानो र ६५ वर्षभन्दा माथिकालाई धेरै देखिन्छ । किन यो एज ग्रुपमा महत्त्वपूर्ण छ भने त्यति उमेरमा लाग्ने निमोनिया अरूलाई भन्दा अलिकति विशेष ध्यान दिनुपर्ने र अलिकति कडा निमोनिया हुनसक्ने भएको भएर, पाँचवर्षभन्दा सानो र ६५ वर्षभन्दा माथीका धेरैलाई लाग्न सक्छ, तर अन्य एजका मानिसमा पनि निमोनिया हुने सम्भावना हुन्छ ।
चिसोको समयमा निमोनिया हुने सम्भावना किन बढी हुन्छ?
चिसो मौसममा हाम्रो वरिपरि धेरैजसो मानिसहरुलाई खोकीलाग्ने र निमोनिया देखिने क्रमबढ्दो छ । विशेषगरी हाम्रा दाजुभाइ, दिदीबहिनी सबैलाई अहिले त्यस्तो समस्या देखिएकाछन् । विज्ञानका अनुसार चिसो मौसममा हाम्रो शरीरको प्रतिरक्षाप्रणाली सामान्यभन्दा अलिकति कमजोर हुन्छ । त्यसैले नाक र मुखको नलीहरू चिसो हावामा संवेदनशील भएर अलिकति असर पर्ने गर्छ । यसले गर्दा शरीरमा ब्याक्टेरिया र अन्य कीटाणुहरू सजिलै प्रवेश गर्न सक्ने वातावरण तयार हुन्छ । त्यसैले चिसो महिनामा अरू मौसम भन्दा निमोनियाको घटना बढी देखिनु स्वाभाविक हो । यसबाट जोगिन समयमै सावधानी अपनाउनु, शरीर तातो राख्नु र आवश्यक परे चिकित्सकको सल्लाहलिनु जरुरी हुन्छ ।
पछिल्लो समय नेपालमा निमोनियाका रोगीहरुको सङ्ख्या घट्दो वा बढ्दो के छ ?
निमोनिया केवल नेपालमा मात्र होइन, संसारभरि नै बढ्दो समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार, यो रोग हालैसम्म पनि टपपाँचमा ज्यानको जोखिम बढाउने रोग मध्ये पर्छ । भ्याक्सिन र उपचारले मृत्यु दर कम गरेको भएपनि, रोगको मात्रा पहिले जस्तै धेरै छ । आजकाल सबै उमेर समूहका मानिस निमोनियाको जोखिममा छन् । बढ्दो आयु, मधुमेह, उच्च रगतचाप, थाइरोइड लगायतका रोग र जीवनशैलीका कारण शरीरको प्रतिरक्षाप्रणाली कमजोर भएको छ । पहिले मानिसहरू धेरै सक्रिय, स्वस्थ र बलियो हुन्थे, तर अहिले कामकम, जंकफुड बढी खाने, स्वास्थ्यसम्बन्धी समस्याहरू धेरै हुने क्रम बढेको छ ।
जति प्रतिरक्षा कम हुन्छ, त्यति नै निमोनियाको सम्भावना बढ्छ । यही कारणले अहिले पनि हाम्रो समुदाय, परिवार र अस्पताल र मेडिकलहरुमा निमोनियाका धेरै केस देखिन थालेका छन् । उमेर बढ्दै गयो, रोग बढ्दै गयो, प्रतिरक्षा घट्यो, अनि निमोनियाको जोखिम बढ्यो ।
निमोनियालाई प्राणघातक रोगको रुपमा किन लिइन्छ?
निमोनिया पनि एकदमै प्राणघातक रोगमा पर्छ र संसारभरमा निमोनिया टपफाइभमै पर्छ, प्राणलाई हाम्रो श्वासप्रश्वासलाई गाह्रो बनाएर मान्छे आइसियुमा जाने र हाम्रो स्वास्थ्यलाई अझै खराब बनाउन सक्ने रोगमध्ये निमोनिया एकमा पर्छ।
निमोनियाको पहिलो चरणका लक्ष्यणहरु कस्तो हुन्छन् र निमोनिया हुनै नदिन केके कुरामा ध्यानदिने ?
निमोनियाको सुरुवाती लक्षण प्रायःखोकी, ज्वरो र छातीमा घ्यारघ्यार हुने अनुभवबाट सुरु हुन्छ । यसपछि श्वासप्रश्वास गाह्रो हुन सक्छ । यस्तो लक्षण देखिएपछि तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा डाक्टरसँग परामर्श लिनु अतिआवश्यक हुन्छ । समयमै डिटेक्सन (अर्ली डायग्नोसिस) भए, निमोनियालाई बढ्न र स्वास्थ्य बिगार्नबाट रोकिन सक्छ । निमोनियाको उपचार यसको कारणअनुसार फरक पर्छ । यसअघि नै भ्याक्सिन लगाइराख्नु यसको प्रमुख बच्ने उपाय हो। नेपालमा पाइने निमोनिया भ्याक्सिनहरूमा पिपिभि १३ र पिपिएसभि २३ छन्। साथै, इन्फ्लुएन्जा भ्याक्सिन पनि लाभदायक हुन्छ ।
चिसो मौसममा शरीरमा संक्रमण हुने संभावना बढ्छ । त्यसैले क्राउडेड ठाउँमा नबस्ने, हात सफा राख्ने, स्वच्छ वातावरणमा बस्ने र घरभित्र ह्युमिडिफायर प्रयोग गर्नाले पनि श्वासप्रश्वास नलीलाई स्वस्थ राख्न मद्दत गर्छ। विशेषगरी इम्युनिटी कमजोर, ५वर्ष मुनिका र ६५ वर्ष माथिका र दीर्घरोग भएका व्यक्तिहरूले भ्याक्सिन लगाउनु आवश्यक छ । भ्याक्सिनले निमोनियाको संक्रमणपूर्ण रूपमा रोक्दैन, तर जोखिम घटाउँछ । उपचार प्रक्रिया पनि कारणअनुसार फरक हुन्छ। ब्याक्टेरियाको निमोनियामा एन्टिबायोटिक आवश्यक पर्छ, भाइरल निमोनियामा प्रायः रेस्ट र आवश्यकता अनुसार एन्टिभाइरल, फङ्गल निमोनियामा एन्टिफङ्गल औषधि दिइन्छ । यदि श्वासप्रश्वास अत्यधिक गाह्रो भयो भने आइसियु र भेन्टिलेटर आवश्यक पर्न सक्छ। अधिकांश हल्का मामिलामा ओपिडीमा ट्याब्लेट खाँदै उपचार सम्भव छ।
अन्तिममा विश्व निमोनिया दिवसको अवसरमा के सन्देश दिन चाहानुहुन्छ?
आजको अन्तर्राष्ट्रिय निमोनिया दिवसको अवसरमा सबैलाई यहि भन्न चाहान्छु कि यदि खोकी, ज्वरो वा पहेँलो खकार जस्ता लक्षण देखिन्छ भने ढिला नगरी स्वास्थ्य केन्द्र पुग्नुहोस् ।समयमै पहिचान र उपचारले आफू र अरूलाई सुरक्षित राख्न सकिन्छ ।
( डा.नीरज पुरी छाती तथा फोक्सो रोग विशेषज्ञ हुन् )































प्रतिक्रिया