विराटनगर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन् । विराटनगर नागरिक उड्डयन कार्यालयद्वारा शनिबार आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताए ।
मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिए । उनले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन गरी विराटनगरबाट नै हिमाली अवलोकन उडान केही दिन भित्रमा शुरु हुने विश्वास दिलाए ।
मन्त्री अधिकारीले मुलुकको व्यापार घाटा कम गर्न तथा यस क्षेत्रमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई हेलिकप्टर मार्फत हेलेसी, पाथीभरा लगायत धार्मिक क्षेत्रमा भ्रमण गराउने कार्यमा आफ्नो सहयोग हुने बताए । उनले तेस्रो देश तथा छिमेकी पाहुनाको सहज, सरल र सुविधायुक्त बसोबासका लागि विराटनगरमा ६÷७ वटा पाँच तारे होटल खोल्नु पर्नेमा जोड दिए ।
रासस































प्रतिक्रिया