एनपीएलमा आज डबल धमाकाः चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै

एनपीएलमा आज डबल धमाकाः चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। उद्घाटन खेलमा हिजो साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भएको थियो। जसमा काठमाडौंले जनकपुरलाई पाँच विकेटले हराएकाे थियाे ।

आजकाे पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११:४५ बजे आमने-सामने हुँदैछन्। कुशल मल्लकाे कप्तानीमा रहेकाे चितवनले रवी बोपारा जस्ता बलिया ब्याट्सम्यानहरू तथा सोहेल तनवीर जस्ता अनुभवी बलरको भरमा जित निकाल्ने लक्ष्य राखेको छ।

यता साेमपालकाे टाेली कर्णालीमा विलियम बोसिस्टो र विपिन शर्मा जस्ता अलराउन्डर तथा बलरहरू छन्, जसले चितवनलाई कडा चुनौती दिने तयारीमा छन्।

एनपीएलमा विराटनगरको नजर उपाधितर्फ [भिडियो]

यस्तै, आजै हुने दिनको दोस्रो र फ्लडलाइट अन्तर्गतको खेलमा साँझ ४:०० बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। मार्टिन गुप्टिल र फाफ डु प्लेसिसको आगमनले चर्चामा रहेको सन्दीप लामिछानेकाे विराटनगर किंग्सको ब्याटिङ लाइनअपमा बसिर अहमत र लोकेश बम जस्ता आक्रामक खेलाडीहरू छन्।

यता कुशल भुर्तेलकाे पोखरा एभेन्जर्स जिम्मी निशम, दिनेश खरेल र रायमोन राइफरको ब्याटिङ तथा विपिन खत्री र सागर ढकालको बलिङमा निर्भर छ। गत संस्करणमा यी दुई टोलीबीचको खेल सुपर ओभरमा गएर पोखराले जितेको थियो, जसले गर्दा आजको खेल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, एनपीएलको दोस्रो दिन पनि दर्शकहरूको ठूलो उपस्थिति रहने अनुमान गरिएको छ। प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्नेछ।

Logo