नासा नेपालद्वारा आयोजित ‘सडक सुरक्षासम्बन्धी पाठ्यक्रम’ डायलग सम्पन्न

नासा नेपालद्वारा आयोजित ‘सडक सुरक्षासम्बन्धी पाठ्यक्रम’ डायलग सम्पन्न

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालका “विद्यालय, कलेज तथा विश्वविद्यालयमा सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम” विषयक एक दिने पोलिसी डायलग काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालको दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा यस किसिमको शैक्षिक बहस सम्भवतः पहिलोपटक हो, जहाँ नेपालमा पाठ्यक्रम तर्जुमाको पद्धति, दिगो विकासमा सुरक्षित र सडक यातायात, संघीय, प्रादेशिक तथा पालिका सरकारहरूको जिम्मेवारी लगायतका विषयमा बहुआयामिक पक्षबाट प्रस्तुति र छलफल भएको थियो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)द्वारा आयोजित यस कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, धुलिखेल, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा तथा चाँगुनारायण नगरपालिकाका मेयर, उपमेयर तथा उच्चतहका अधिकारीहरूको सहभागिता रहेको थियो । त्यसैगरी, नेपालका विभिन्न विद्यालय तथा कलेजका प्रिन्सिपलहरु, विश्वविद्यालयमा कार्यरत अध्यापकहरू, सञ्चारकर्मी, पीडित परिवार, विज्ञ तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

नेपालको शिक्षा क्षेत्रमा क्रियाशील हिसान, प्याप्सन, तथा विद्यालय सञ्चालक, प्रहरी अधिकारीका साथै नासा फाउन्डेसन, युथ फर रोड सेफ्टी नेपाल, नेपाल संसद सचिवालय, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटि नेपाल, साइकल कल्चर मुभमेण्ट नेपाल, त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक क्षेत्रसँग संलग्न वरिष्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

संसारमा अकाल मृत्युको आठौँ कारण रहेको सडक दुर्घटना नेपालमा भने पहिलो कारणको रूपमा रहेकोले सुधारका लागि विद्यालय तथा विश्वविद्यालय तहबाटै प्रयत्न गरिनुपर्ने, अन्तरसरकारी समन्वय हुनुपर्ने, सैद्धान्तिक मात्र नभई प्राविधिक तालिमहरूको व्यवस्था गरिनुपर्ने तथा हाल आंशिक रुपमा रहेको पाठ्यक्रमलाई परिमार्जित र व्यवस्थित गरिनुपर्ने तथा देशभरिको विद्यालयहरूका सबै तहमा लागु गर्नुपर्ने समेत आजको छलफलको विषय रह्यो ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सडक सुरक्षाकी पीएचडी स्कलर भगवती सेडाई, पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतम, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी उपरीक्षक सरोज गिरी, युथ फर रोड सेफ्टी नेपालका किरण धिताल, नासा फाउण्डेसन नेपालका सुवास भट्टराई लगायतले सडक सुरक्षामा शैक्षिक र एकेडेमिक क्षेत्रको भूमिकाका बारेमा विभिन्न प्रस्तुतिहरु गरेका थिए ।

त्यसैगरी संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटिका प्रा. डा. रोहित कुमार पोखरेल लगायतले आफ्नो धारणा तथा अनुभव प्रस्तुत गरेका थिए ।

सडक दुर्घटनाका पीडित सञ्चारकर्मी रविन थपलिया, डा. तारालाल श्रेष्ठ, शिक्षिका मञ्जु चित्रकार, हिसानका उपाध्यक्ष रामहरी सिलवाल तथा सडक सुरक्षा अभियानकर्मी सरोज खनाल समेतले यस किसिमको नीतिगत छलफल नेपालको सडक सुरक्षाको लागि कोसेढुङ्गा बन्ने कुरा बताए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संयोजन गरेको कार्यक्रमले डा. भगवती सेडाई, मञ्जु चित्रकार र कमला क्षेत्रीसमेत रहेको एक कार्यदल गठन गरिएको छ, जसले प्रारम्भिक तहदेखि विश्वविद्यालय तहसम्मका शैक्षिक संस्थाहरुमा सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम लागु गर्न डा«फ्ट तयार, लबिङ्ग तथा सहजीकरणको कार्य गर्नेछ ।

एफआइए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्ट प्रोग्राम तथा एफआइए फाउण्डेसनको सहयोगमा नासा नेपालद्वारा सञ्चालित अभियान ‘भ्वाइस अफ यूथ फर सेफ एण्ड सस्टेनेबल मोविलिटि’ अन्तर्गत सम्पन्न सो कार्यक्रममा तीन दर्जन भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo