पारिपट्टि सेतो कुहिरोको घुम्टोमुनि सिन्धुपाल्चोकको मुढेबजार देखियो । दोलखाको भेड्पु, घ्याङ्ग, पवटी, शैलुङ्गेश्वर हुँदै शैलुङ्गका थुम्काहरूमा परेको हिउँमाथि च¥यापच¥याप खुट्टा बजाउँदै मुढेतिरै लागिरहेका थिए– चार मानव प्राणी । "/>

उज्यालो खोज्न हिड्दाका अध्याँरो क्षणहरु

उज्यालो खोज्न हिड्दाका अध्याँरो क्षणहरु

केन्द्रबिन्दु
0
Shares

पारिपट्टि सेतो कुहिरोको घुम्टोमुनि सिन्धुपाल्चोकको मुढेबजार देखियो । दोलखाको भेड्पु, घ्याङ्ग, पवटी, शैलुङ्गेश्वर हुँदै शैलुङ्गका थुम्काहरूमा परेको हिउँमाथि च¥यापच¥याप खुट्टा बजाउँदै मुढेतिरै लागिरहेका थिए– चार मानव प्राणी ।

ती मानव प्राणीका पिठ्यूँमा रुकस्याक थिएन । खुट्टामा स्नोबुट थिएन । थियो त हात्तीछाप चप्पल प्याटप्याट । जडाउरीजस्ता कपडाका जुत्ता ल्याफ्राकल्याफ्राक । ती विदेशी पर्यटक पनि थिएनन्– हिउँमा चिप्ली खेल्न आएका । आन्तरिक पर्यटक पनि थिएनन्– नघुमेको ठाउँ हेर्न हिँडेका । ती त जीवनको अभाव र अँध्यारोसँग जुधीजुधी थाकेर सहर पसेका । त्यसमध्ये एउटा थियो– जीवनको उज्यालो खोज्न हिँडेको बालक ।

०३९ साल माघ २ गते । मैले सहरका लागि बाटो तताएँ । दोलखाको मेलुङ्गसँग जोडिएको रामेछापको फुलासी मेरो प्यारो गाउँ । त्यो प्यारो गाउँलाई मैले छाड्नैपर्ने भएको थियो । बुबाको निधनपछि मेरा सारा उज्याला बाटाहरू अन्धकारले ढाक्यो । पढाइ रोकियो । दिनको पाँचघन्टा हिँडेर पाँच पास सकिएपछि पढाइको वैकल्पिक बाटो खोज्दै म एकाबिहानै घरबाटै निस्किएको थिएँ ।

म हिँड्न लागेपछि आमा डाँको छाडेर रुन थाल्नुभयो । हजुरआमा आँखाभरि आँसु लिएर भक्कानिनुभयो । मैले धेरै वर्ष वनमा चराएको र चौध/पन्ध्र बाली पकाइसकेको फुर्केगोरु पनि रोयो सायद । आप्mनो सारा जवानी हाम्रो खेतबारी जोताइमा खर्चेको फुर्केगोरु गाहकीको मोलमोलाइको काँटामा चढ्दै थियो । अर्थात् जुन दिन म घर छोड्दै थिएँ, त्यही दिन मेरो प्यारो फुर्के गोरु पनि बेचिँदै थियो । फुर्केका सबै दाँत झरेर घाँँस चपाउन नसक्ने भएको थियो । जोत्न नसक्ने भएको थियो फुर्के । त्यसैले ‘जातले पा’को हातले खा’को भन्नेहरू त्यसलाई मोलमोलाइ गर्दै थिए ।

कान्छो मामा अगाडि लागे । त्यसपछि काइँलो मामा । सबैभन्दा पछि ठूलीआमा । मबाहेक ती सबै मेरा आफन्त काठमाडौँमा ठूलाबडाका घरमा नोकर बसेका थिए । कान्छो मामाले मलाई पनि नोकर बसेर पढ्ने घर खोजिदिएका थिए । उनी बसेकै घरको आफन्तकोमा ।

पञ्चकाल थियो । गाउँमा पञ्चकै हालीमुहाली थियो । रिस उठेकाहरूलाई ती ठिँगुरा हालेर थुन्थे र पिट्थे । मुखिया जिम्मावालहरूको नै राज थियो । एउटा पञ्चेसभा बसिरहेका बेला मलाई मैले सुन्ने गरी एउटा ठालुले भनेको थियो, ‘अब धर्मेका छोरा गु भएर बिगे्र ।’ त्यो बचन मलाई बाणझैँ लाग्यो । छँदाखाँदाको भर्भराउँदा बा गुमाउनु छ, त्यसमाथि त्यस्ता बचन वाण खानु छ । त्यसैले पनि मलाई गाउँमा बस्न मन लागेन । जसरी भएपनि पढ्छु भन्ने लाग्यो । अनि मैले रोजेँ अप्ठेरो बाटो ।

घरबाट तेर्सिएर पर पुगेपछि फर्किएर हेरेँ । हजुरआमाले फुर्केगोरु फुकाइदिनुभयो । त्यसलाई गाहकीले पुच्छर निमोठ्दै खेदे । फुर्के गोरु र मेरो नियति उस्तै भएजस्तो लाग्यो ।
घाम निकै माथि आइसकेको थियो । हामीले रामेछापलाई छाड्यौँ । दोलखाको मेलुङ्गको उकालो चढ्यौँ । मैले नाइलनको डोरी भएको पोलिस्टरको सुर्काने झोला बोकेको थिएँ । झोलामा एकमाना घिउ र एकबट्टा चुक अमिलो थियो निबुआको । कतै ठोकिएर सिसी फुट्छ कि भन्ने डर पनि थियो । बाटोमा आफ्नै बेदनाका गफ चले । मामाहरू दुईचार वर्ष सहर बसेका हुनाले उनीहरू सहरकै गफ गर्थे । म एकोहोरो सुन्थेँ । म मनमा कल्पनाको ‘काठमाडौँ’ ठड्याउँथेँ । आँखामा बिजुलीको झिलिमिली र मोटरको ताँतीको कल्पना गर्थेँ । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ मान्छेहरू देख्न÷भेट्न पाइने खुसी मनमा ल्याउँथेँ । फेरि घरको सम्झनाले मनमा तीर हान्दा खुसी पीडामा बदलिन्थ्यो ।

हामीले मेलुङ्ग डाँडो पार ग¥र्यौँ । त्यसपछि विल्कुलै नौलो ठाउँ आयो । झन् उकालो लाग्यो झनै ठूलाठूला खोलाहरू देखिए । खोलामा एउटै लामो ढुङ्गाको फड््के पुल हालेको थियो । सानो खोलामा पनि फड्के नै छ, ठूलो खोलामा पनि फड्के नै छ । ढुङ्गा पनि कति लामा नि ! मलाई त ती ढुङ्गा देखेर अचम्म लाग्न थाल्यो । हैन, कति जनाले बोकेर त्यसलाई हाले होलान् !

हामी घ्याङ्ग भन्ने ठाउँमा आइपुगेका थियौँ । बाटोमा मेरा स्कुले साथीहरू भेटिए । ती मावल हिँडेका रहेछन् । उनीहरू साथमा छउञ्जेल त मलाई उहीँ गाउँमा छु जस्तो लाग्यो । मेरो झोलाको डोरी चुँडियो । झण्डै सिसी जतिले ढुङ्गासँग मित लगाएका । अब परेन फसाद ! झोलाले आलु खाइगो । अब केमा हाल्ने ती सिसी ? त्यहाँ हाम्रो निकै अलमल भयो । ठूलै गलफती प¥यो । घिउको सिसी चर्किएछ पनि । मेरो स्कुले साथी बासु चौहानले उसको सुर्काने झोला दियो । ‘पछि पठाइदिनु है’ भन्यो । सिसीले नयाँ झोला पाए । धन्न सिसीलाई केही भएन । ठूलो दुर्घटनाबाट ती जोगिए ।

मेरा साथीहरूको मावलीघर आइपुगेछ । उनीहरू छुट्टिए । झण्डै मेरो मुटुपनि उनीहरू सँगै गएको । म त रोएछु । रुँदै उनीहरूसँग विदावादी भएँ । हामी निकै उचाइमा पुगिसकेका थियौँ । जाडोले मुटु सेक्न सुरु ग¥यो । छिनछिनमै जङ्गललाई कुहिरोले ढाक्ने र छिनमै छोड्ने गर्न थाल्यो । त्यसको सङ्केत थियो– हिमवर्षाको । बाटोमा रूखका पातहरूबाट तपतप शित झर्न लाग्यो । बाटोमा चरपचरप तुषारो । दसैँमा काकाले सहरबाट पठाइदिएका घरेलुका सेता कमिज सुरुवालमाथि खैरो ज्वारीकोट लगाएको थिएँ । कुन्नि केमा चिप्लिएर लडेँ । कुहिनु ठोकिएर घाउ भएछ । रगत आयो । मेरा सेता कपडा त माटोले धुस्रेफुस्रे बनाएछ । कुहिनुबाट बहेको रगत मरे रोेकिएन । ठूली आमाले ढुङ्गाको झ्याउ हालिदिनुभयो । रगत रोकियो तर बाहुला भने रातै । राता मोजा थिए, ती मोजा फुपूका बिहेका मोजा रहेछ क्यारे । जुत्ता खैरा थिए कपडाका । राता मोजाभित्र सेतो सुरुवालको दुई खुट्टा घुसारेको थिएँ ।

जति बाटो सर्दै गयो, जाडो पनि बढ्दै गयो । छिनभरमै सिमसिम पानी प¥यो । त्यो त पानी होइन हिउँ झरेको रहेछ । अब घरेलुका कमिज र ज्वारीले पनि लत्तो छाड्यो । जाडोले लुगलुग मुटु हल्लाउन थाल्यो । जुत्ता मोजाले के काम गथ्र्यो ! हिउँले पूरै भिज्यो । मसँग काठमाडौँ पुग्ने चालीस रुपैयाँ थियो । त्यो रुपैयाँ भिज्छ भन्ने सुर्ता लाग्न थाल्यो । हामीसँग पैसा नभएर दुई दिनको बाटो हिँड्ने निर्णय गरेका थियाँै । घरबाट एक बिहानमा तामाकोशी नयाँपुल पुगिन्थ्यो । चरिकोट हुँदै जान सकिन्थ्यो । त्यताबाट बस चढेको भए त्यो हैरानी बेहोर्नुपर्ने थिएन । मैले पैसा कान्छो मामालाई राख्न दिएको थिएँ किनकी उनले जिन्सको पाइन्ट लगाएका थिए ।

हिउँले शैलुङ्गका थुुम्काहरू छपक्कै ढाक्यो । उधुमै चिसो बढ्यो । हात गोडाले काम गर्न छोडे । खुट्टा अररिएर भनेको ठाउँमा टेकिन छाड्यो । हात कठ्याङ्ग्रिएर केही समात्न छाड्यो । शरीरमा रक्तसञ्चार नै बन्द होला जस्तो भयो । घाम कतै देखिएन । म त धर्धरी रोएँ । छँदाखाँदाको गाउँघर किन छोडेको होला ! काठमाडौँमा मेरा आफन्त को नै थियो र ! अर्काको घरमा नोकर बस्ने त हो । मलाई घर फर्कूँफर्कूँ जस्तो लाग्न थाल्यो । नहिँडी सुख्खै थिएन । रुँदैरुँदै हिँडे । तर कता हिडेँ, किन हिडेँ, थाहा हुनै छोड्यो ।
बादल फा¥यो । पश्चिममा पुलुक्क घाम देखियो । घाम डुब्न लागिसकेछ । बासै बस्ने बेला भएछ । मूलबाटोबाट केही तल झर्नुपर्ने रहेछ बास बस्न । त्यो देउराली भन्ने ठाउँ रहेछ । एक दुई वटा पसल र बास बस्ने ठाउँ पनि रहेछ । हामीले बाबर ल्याएका थियौँ । खाना खाने भए मात्र सुत्न दिने साहुजीको निर्णयले हामी वेवारिसे भयौँ । फेरि मास्तिरै उक्लियौँ । एउटी तामाङ्गनी आमैकोमा बास माग्यौँ । आमैले भनिन्– ‘बस्बस्, काँदेखि आ’थ्यौ ?’ हामीलाई साक्षात् देवी भेटेजस्तो लाग्यो । तिनले मोही दिइन् । जाडोमा के मोही खानुथ्यो र ! मामाहरूले खाए मैले खान सकिनँ ।

तामाङ्गीनी आमैले गुन्द्री दिइन् । एक एकवटा लिप्टा पछ्यौरा ओडेर सुत्यौँ । मलाई के निन्द्रा लाग्थ्यो । घर सम्झिएँ । सानो भाइ सम्झिएँ । आमा सम्झिएँ । हजुरआमा सम्झिएँ अनि सम्झिएँ फुर्के गोरु । फिटिक्क ननिदाई उज्यालो भो । बिहानै उठेर हिँड्यौँ । घाम लाग्यो । मुडे बजार देखियो । बिहानभरिको हिँडाइपछि मुडे पुग्यौँ । मलाई त त्यो बजार काठमाडौँको ‘भाइ सहर’ जस्तो लाग्यो । तामाङ्गहरूको माने र गुम्बा । गुम्बामा फर्फराइरहेका ध्वजापताका । जमिनमा घाम लागेपनि न्यानो थिएन । ओठ कमाउने गरी सिरेटो लाग्थ्यो । त्यसले मुटु नै चुँढेर लग्थ्यो । चरिकोटतिरबाट आउने बसहरू गैसकेछन् । पर्खँदापर्खँदा बाह्र÷एक बज्यो । माथि डाँडामा ट्रक देखियो । ट्याँट्याँ गर्दै आयो । त्यहीँ रोकियो । मामाहरूले त्यसैमा जाने कुरा गरे । ड्राइभरले लाने भयो । हामीले एक ज्यानको बी–बीस तिरेर जाने मञ्जुर ग¥यौँ ।

ट्रक ओरालो लाग्यो । ट्रकको भुइँ हल्लिएर बस्न नहुने भो । कहिले उठ्यौँ, कहिले बस्यौँ । एक घुम्ती घुम्न नपाउँदै सुरु भयो बान्ताको लहर । ठूलीआमाले फाल्नुभयो हिजोको रोटी र त्यसपछि म । मामाहरू त बानी परेका केही भएन । मलाई ट्रकबाटै हाम फालुँजस्तो भयो । बीचबाटोमा पुगेर ट्रक बिग्रियो । बनाउन निकै समय लाग्यो । अँध्यारो भयो । ट्रक यता उता हल्लिएर हिँड्न लाग्यो । राती आठ बजेतिर हामी सहर पुग्यौँ ।

ट्रकले कहाँ ओरालिदियो, मैले केही थाहा पाइनँ । खालि गाडीको बत्तीको झल्याकझुलुक मात्र देखेँ । मामाहरू अघि लागे । म पच्छ्याउँदै हिँडँे । एउटा बाँसघारीको उकालो आयो । उकालो चढेपछि तेर्सो लाग्योैँ । अँध्यारो थियो । एउटा घरको पेटीमा भारी बिसायौँ । खै के का कार्टुन च्याते मामाहरूले । त्यही ओच्छ्याएर पच्छ्यौराको भरमा सुत्यौँ ।
भोलि भयो । त्यो त बढेमानको दरबार जत्रो घर रहेछ । गाउँतिर कोही आयो भने कताबाट, के कसो भनेर सोध्थे । ‘के खानुहुन्छ’ भनेर सोध्थे । साँच्चै काठमाडौँका मान्छेहरू त ढुङ्गा नै हुन कि क्या हो ! काँइलो मामा र ठूली आमा आ–आफूले कामगर्ने घरतिर लागे । म र कान्छोमामा त्यहाँबाट हिँड्याँै । म के थाहा पाउँथेँ, कता जाँदै छु भन्ने । एक घण्टाजति हिँडेपछि मामाले गेट खोले । मामाको बस्ने घर रहेछ । भित्र पुगेपछि मालिकले भने, ‘उद्धव, यही केटा हो तिम्रो भान्जो ?’ मामाले, ‘हो हजुर’ भनी बिन्ती बिसाए । मलाई ‘छतमा जाऊ’ भने मामाले । उनी भात पकाउन थाले । त्यहाँ त भातलाई ‘भुजा’, तपाईंलाई ‘हजुर’, आउनुलाई ‘आइस्योस्’, जानुलाई ‘गइस्योस्’ भन्नुपर्ने रहेछ । परेन फसाद अब ! यी शब्द मैले कहिले सिक्ने । मामाको साथ छउन्जेल त पीर लागेन । भोलिपल्ट एकजना आठ÷दश वर्षको भाइ मलाई लिन आए । मामाले ‘जाऊ भान्जा’ भनेपछि पो म एक्लो भएछु भन्ने अनुभव गरेँ ।

ती भाइ अघिअघि लागे । म जाडोले थुरथुर काम्दै पछिपछि लागेँ । एक घण्टाजति हिँडेँ । बीचमै ती भाइ हराए । अब कता जाने । म निकै अगाडि बढेँ । भाइ त घरमा कामगर्ने मान्छे ल्याएँ पो भन्न गएछन् । म निकै अगाडि बढेछु । ती भाइ स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दे कुद्दै आए । मलाई रोके । भाइले मलाई फर्काए । गेट खोलेर भित्र कम्पाउण्डमा छिराए ।

त्यसपछि सुरुभयो मेरो कष्टपूर्ण दैनन्दिन । सम्भावना र चुनौतीको बीचमा मैले सातवर्ष त्यस घरमा घरायसी नोकरको रूपमा बिताएँ । पछि थाहा पाएँ काठमाडौँमा पुगेको रात बास बसेको ठाउँ डिल्लीबजारको कालिकास्थान रहेछ । त्यो पिपा गोस्वारानजिकै पर्दोरहेछ । माइँलोमामा बसेकै घरको आफन्तको घर रहेछ । अहिले भन्न मन लाग्छ– ‘साला काठमाण्डू ! गरिबलाई एकरात बास दिन पनि तलाईं त्यति गाह्रो !’

कान्छो मामाले काम गर्ने ठाउँ गैह्रीधारा नक्साल रहेछ । मेरोचाहिँ बालुवाटार महाराजगञ्ज ।

Skip This
Skip This
Logo