जेन जी आन्दोलनमा श्रीयमको बलिदानी, वलिदानी खेर नजाओस् : परिवार

जेन जी आन्दोलनमा श्रीयमको बलिदानी, वलिदानी खेर नजाओस् : परिवार

केन्द्रबिन्दु
9
Shares

बेलबारी। मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहेका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो ।

गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा प्रहरीको गोली लागेर कलिलो उमेरमै यस संसारबाट बिदा भए । मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका थिए । काठमाडौँको ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत उनी राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनले उनलाई आकर्षित गरेको थियो । १८ वर्षीय श्रीयम स्कुल पोसाकमै प्रहरीको गोली लागेर नयाँबानेश्वर सडकमा ढले । श्रीयम परिवारका दोस्रो सन्तान हुन्, उनकी दिदीको विवाह भइसकेको छ ।

श्रीयम आमाबुबासँग काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा भाडाको कोठामा बस्दै आएका थिए। उनको निधनसँगै ५२ वर्षीय बुबा गणेशप्रसाद र ४४ वर्षीय आमा गङ्गाको आशा, भरोसा अनि सपना सबै सेलाएको छ । गणेश पेसाले यातायात व्यवसायी हुन् । छोराको पढाइकै लागि परिवारै काठमाडौँ आएको बताउँदै बुबा गणेश भन्छन्, “पढाइमा राम्रो भएकाले मोरङबाट काठमाडौँ ल्याएर राम्रो कलेजमा भर्ना गराएका थियौँ ।”

आफ्नो छोराको मृत्युलाई सार्थक बनाउन जेनजी सहिद परिवार सङ्घर्ष समितिमा पनि उनी आबद्ध छन् । मृतकको परिवारलाई न्याय महसुस गराउन राज्यसँग १४ बँुदे मागसहित समिति बनाएर लागिपरेको गणेश बताउछन् । यसमा भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही, मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पेन्सनलगायत माग गरिएको छ । तीमध्ये कतिपय माग पूरा हुँदै गरेको उनले बताए । यति ठूलो राजनीतिक घटनाक्रममा भएका सहिदप्रति कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले कुनै चासो नदेखाएकोप्रति दुःख लागेको गणेशले बताए ।

सबैभन्दा ठूलो कुरा त, जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्यअनुरूप देश बनाउन सरकार र राजनीतिक दल एकजुट भएहुन्थ्यो भन्ने उनको भनाइ छ । भदौ २३ गते श्रीयम देशलाई सुशासन साथै दिगो निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनमा सहभागी बने तर विडम्बना अब उनी सकुशल घर फर्कन सकेनन् । श्रीयमका लक्ष्मी मार्ग रहेका काका राजन चौलागाई भन्छन्, “हामीले हाम्रो सन्तान गुमायौँ, देशले एक असल युवा गुमायो । सहिदको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”

श्रीयमका मामा केशव कार्कीले भन्नुहुन्छ, ‘‘भाञ्जा पढाइमा तेज थिए । राजनीतिमा खासै चासो थिएन जस्तो लाग्छ तर त्यो आन्दोलनमा जान्छु होला भनेर दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ ।’’ श्रीयमले इटहरीस्थित मामासँगै बसेर कक्षा ९ र १० पढेका थिए । केशव भन्छन्, ‘‘उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ भदौ २३ को आन्दोलनतिर हिँडे तर अब उनी सहिद भए ।’’ भदौ २३ गते म रङ्गशालामा खेलाडी छनोट प्रक्रियामा थिए, एक्कासि भाञ्जालाई गोली लागेको खबर आयो कार्की बताउछन् ।

‘‘म आफैँ ट्रमा सेन्टर पुगेको थिएँ, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेँ, एक्कासि टाउको फुट्ला जस्तो भयो । सम्हालिन धेरै बेर लाग्यो । सँगैहुर्काएको र पढाएको अनिसँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो । घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेको थिएन’’ उनले भने ।

सहिद श्रीयमले कक्षा ९ र १० सुनसरीको इटहरी ५ स्थित रहेको मकालु बोर्डिङ स्कुलमा अध्ययन गरेका हुन् । स्कुलका पिन्सिपल थानेश्वर ढकाल भन्नुहुन्छ ‘श्रीयम पढाइमा अत्यन्तै लगनशील, मेहनती र इमान्दार विद्यार्थी थिए, उसका साथीहरु र शिक्षक शिक्षिकाका प्रिय थिए श्रीयम ।’ श्रीयमले त्यस विद्यालयमा दुई वर्ष मात्र अध्ययन गरेका थिए । जेनजी आन्दोलनमा उनी सहिद भएपछि उहाँको सम्झनामा विद्यालयले केही स्मरणीय कार्य गर्ने योजना बनाएको प्रिन्सिपल ढकालले बताए।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको गरिसकेको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेकामध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरिएको हो ।

Skip This
Skip This
Logo