काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठक प्रतिनिधि सभा सदस्यको निर्वाचनअघि मुद्दागत एवं सांगठनिक सहकार्यका पृथक विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई अघि बढाउन उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
जेन–जी पुस्ताले गरेको निर्णायक हस्तक्षेप पश्चात् प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न सुशासन र समुन्नतिसँग सम्बन्धित आम नागरिकका आधुनिक आकांक्षाहरू सम्बोधन गर्न मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।
बुधबारको बैठकमा सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारद्वारा प्रतिशोधपूर्ण रूपले लगाइएको मुद्दाको कानुनी अवस्थाबारे जानकारी गराइएको झाले बताए । बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरिएको जानकारी उनले दिए ।
विस्तारित बैठक व्यवस्थापन समिति संयोजक हरि ढकालबाट समीक्षा प्रस्तुत गरेका थिए । बैठकमा सदस्यहरूले दिएका सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन गर्दै जाने निर्णय भएको पनि उनले बताए ।
हिजो बसेको केन्द्रीय समिति बैठकले विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीबाट प्रस्तुत संगठनात्मक प्रतिवेदन र सहमहामन्त्री विपिनकुमार आचार्यबाट प्रस्तुत उम्मेदवार छनोट विधिमा प्राप्त सुझावहरू सहित पारित गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोट सम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहमहामन्त्री आचार्यलाई थप जिम्मेवारी प्रदान गरिएको झाले बताए ।
उनलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकिएको छ। उम्मेदवार छनोट समिति सदस्यहरूमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय डा. चन्दा कार्की र राजन गौतम तथा प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन् ।
उनले रूपन्देही–३ को हकमा भने यसअघि नै छनोट भइसकेका डा. लेखजंग थापा नै उम्मेदवार कायम रहने बताए ।
पार्टीको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित वाचापत्र कार्यदलमा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई थप गरिएको छ ।
संविधान परिमार्जन कार्यदलको नाम संशोधन गरी संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल बनाउने निर्णय भएको छ । उक्त कार्यदलको रिक्त संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सोबिता गौतमलाई दिने निर्णय भएको छ । यसअघि सन्तोष परियार संयोजक थिए । उनले पार्टी नै छाडेपछि पद रिक्त थियो ।
प्रवक्ता झाले बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरूमा बढ्दो राजनीतिक चेतना तथा जेन–जी पुस्ताको सक्रिय राजनीतिक प्रवेशलाई दृष्टिगत गर्दै नेपालका राजनीतिक तथा संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल तथा संसदीय प्रक्रियाको व्यावहारिक अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गर्ने उद्देश्यले युथ नेशन बिल्डिङ एकेडेमी आयोजना गर्ने निर्णय गरेको बताए ।
यस कार्यक्रम पार्टीको केन्द्रीय कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा, केन्द्रीय प्रशिक्षण विभाग तथा नेतृत्व क्षमता विकास विभागसँगको समन्वयमा सञ्चालन गरिने पनि झाले बताएका छन् ।
कार्यक्रमको समग्र संयोजनका लागि कानुन तथा मानव अधिकार विभाग प्रमुख सोविता गौतमलाई संयोजक तोकिएको छ । रास्वपाले सबै प्रदेश र सबै जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक गर्ने तयारी गरेको छ ।
केन्द्रीय समिति बाहेकका सबै रिक्त पद समावेशिताको सिद्धान्तलाई अनिवार्य पालन गरी अधिकतम पदपूर्ति गर्न निर्देशन दिने निर्णय रास्वपाले गरेको छ ।
त्यस्तै सातै प्रदेश एवं ७७ जिल्लामै सम्बन्धित तहगत समितिले संयोजन÷निर्देशन गरी जेन–जी उमेर समूहका युवा पुस्तासँग छलफल÷संवाद कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ। पार्टीको सबै तह, संयन्त्रमा युवा सहभागिता बढाउन आवश्यक गृहकार्य गर्ने पनि बैठकले निर्णय गरेको छ ।































प्रतिक्रिया