काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा चितवन राइनोजले लुम्बिनी लायन्ससामू मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन जोडेको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन को योगदान दिए। उनले ५५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे।
चितवनको सुरुवात कमजोर रह्यो । ओपनर दीपक बोहरा १० रन र डेभिड मलान शून्यै आउट भएपछि मध्यक्रममा देव खनाल १४ रन र कप्तान कुशल मल्लले २१ रनले रवि बोपारालाई साथ दिए। कुशल मल्लसँग बोपाराको साझेदारी नै इनिङ्सको मुख्य आधार बन्यो। सैफ जैबले १५ रन जोडे।
लुम्बिनी लायन्सको तर्फबाट बलर रुबेन ट्रम्पेलम्यान ले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २३ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएर चितवनको रन गतिलाई नियन्त्रणमा राखेका थिए। उनीबाहेक गुल्बादिन नायक र अभिशेष गौतमले २-२ विकेट लिए।
लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। आज लुम्बिनी सुखद् सुरुवातको पक्षमा छ भने चितवन दोस्रो जित चाहन्छ ।





























प्रतिक्रिया