काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समिति चाँडै सहमतिका आधारमा पूर्णता पाउने क्रममा छ । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १२ वाम दलको एकीकरणबाट बनेको नेकपामा दैनिक सञ्चालनका लागि यो सानो संरचना आवश्यक छ। समितिको आकार ३५ देखि ३९ सदस्यीय रहने र जसपा (जनता समाजवादी पार्टी) सँगको एकता प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा हुने कार्यदलका सदस्य प्रकाश ज्वालाले बताए।
अहिले कार्यदल स्तरमा तीव्र छलफल भइरहेको छ । पूर्वपदाधिकारीहरूलाई प्राथमिकता दिँदै माओवादीका सबै प्रमुख पदाधिकारी र एकीकृत समाजवादीबाट १२ देखि १५ जनासम्म समावेश गर्ने तयारी छ । एकीकृत समाजवादीका पदाधिकारी संख्या ठूलो भएकाले सबैलाई समेट्न कठिनाइ छ, तर सहमतिको आधारमा छनोट हुनेछ । बाँकी स्थानमा भीम रावल, महिन्द्र राय यादव जस्ता स्वतन्त्र वा अन्य पक्षका नेताहरू र जसपाबाट एक जना प्रतिनिधि रहने सम्भावना छ । नेकपाको अन्तरिम विधान २०८२ को धारा ४१ अनुसार, यो समिति केन्द्रीय कार्य समितिप्रति उत्तरदायी हुनेछ।
कार्यदल सदस्य रेखा शर्माका अनुसार, ’जसपा एकता र छलफल पूरा भएपछि समिति पूर्ण हुने छ । अहिले विभिन्न मोडेलमा बहस भइरहेको छ, तर पूर्वपदाधिकारीलाई राख्नेमा सबै सहमत छन्।’ यो समिति निर्वाचन आयोगमा पठाइने १३८ सदस्यीय केन्द्रीय कार्य समितिभन्दा सानो र सक्रिय रहनेछ ।





























प्रतिक्रिया