जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित, सन्दीपले लिए ४ विकेट

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित, सन्दीपले लिए ४ विकेट

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले लगातार तेस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

१३६ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १२६ रन बनाउन सक्याे । आज जनकपुरका ब्याटरहरूले खुलेर खेल्न सकेनन्। विदेशी खेलाडी जान निकोल लफ्टी-ईटनले ३० बलमा सर्वाधिक ४१ रन बनाए पनि उनलाई अन्य ब्याटरबाट गतिलो साथ मिलेन।

पहिलो विकेटका लागि आसिफ शेख १३ रन र अनिल साह ६ रनमा आउट भएपछि गतिलो सुरुवात दिन नसकेकाे जनकपुरले लगातार विकेट गुमाएको थियो। १११ रनमा ६ विकेट गुमाएको अवस्थाबाट जनकपुरले केवल १२ रन जोड्दा थप ३ विकेट गुमाएर २० ओभरमा १२६ रनमा समेटिन पुग्यो।

विराटनगर किङ्सका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। उनको स्पेल जनकपुरको इनिङ्स धराशायी पार्ने मुख्य कारण बन्यो।

अन्य बलरहरूमा सूर्य तामाङले २ विकेट लिए भने विदेशी तीव्र गतिका बलर मार्केन्ट डी ल्यांगेको नाममा १ विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको थियाे । यसअघि पहिलो खेलमा २२० रन बनाएर इतिहास रचेको विराटनगरले पनि आज ब्याटिङ खुलेर गर्न सकेकाे थिएन ।

विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए।

ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनमा चाँडै आउट भएपछि दबाबमा आएको विराटनगरको पारीलाई लोकेश बमले २८ रन बनाएर केही हदसम्म सम्हालेका थिए।

जनकपुर बोल्ट्सका लागि बलर सङ्गीत कूरयले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २६ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए। त्यस्तै, रुपेश सिंहले पनि २ विकेट हात पारे।

अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । यो हारसँगै जनकपुर अंकविहीन बनेको छ ।

यता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लगातार तेस्रो खेल जितेको छ। विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो ।

Logo