काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले आज भाइटीकाको दिन सर्वसाधारणहरुलाई टीका लगाइदिएको छ । गत वर्षको चैत १४ गतेबाट काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले आज सर्वसाधारणलाई भाइटीका लगाइदिएको हो । कोही पनि दाजुभाईको निधार खाली नहोस भनेर खुलामञ्चमै भाइटीका लगाइएको हाम्रो टीम नेपालकी संस्थापक सदस्य कविता पौडेलले जानकारी दिइन् ।
कोरोनाका कारण आफ्नो दिदीबहिनीहरुलाई भेट्न जान नपाएका दाजुभाईहरुलाई आज भाइटीकाको दिन सप्तरंगी टीकासँगै मखमली फूलको माला र ढाका टोपी लगाइदिएको उनको भनाइ छ । यो वर्ष आफ्ना दिदीबहिनीहरुबाट टाढा भएपनि खुलामञ्चमा हाम्रो टीम नेपालका सदस्यहरुबाट भाइटीका लगाएका सर्वसाधारणहरु खुशी देखिएका छन् । लकडाउनपछि निरन्तर खाना खुवाइरहेको उक्त समूहले दशैंमा पनि सर्वसाधारणहरुलाई टीका र जमरा लगाइदिएको थियो । मंसिर २ गतेबाट भने खुलाञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द गराउने भएको हो । महानगरपालिकाले व्यवस्थित ठाउँमा खाना खुवाउने व्यवस्थापन गर्न आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने जनाएको छ ।






































प्रतिक्रिया