लैंगिक हिंसा समाजको कलंक हो : उपाध्यक्ष दीपक आचार्य

लैंगिक हिंसा समाजको कलंक हो : उपाध्यक्ष दीपक आचार्य

केन्द्रबिन्दु
21
Shares

निर्मल पौडेल,पर्वत। जलजला गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत “प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसाको अन्त्य गरौं” मूल नारासहित विशेष सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्य तथा कार्यपालिका सदस्य बबी केसी सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आचार्यले स्पष्ट पारे, “लैंगिक हिंसा कुनै व्यक्तिगत वा पारिवारिक विषय मात्र होइन, यो हाम्रो सिङ्गो समाजको कलंक हो। परम्परागत हिंसासँगै प्रविधिको दुरुपयोगबाट हुने साइबर हिंसा पनि उत्तिकै जघन्य अपराध हो। यसको अन्त्यका लागि सामुदायिक एकता र डमेन्ट प्रणालीको सुदृढीकरण अपरिहार्य छ।”

आचार्यले भने “ यो १६ दिनको अभियान होइन, ३६५ दिनको संकल्प हो। हरेक वडा, हरेक टोल, हरेक घरमा लैंगिक हिंसा शून्य बनाउने यो जलजलाको प्रतिबद्धता हो।” उनले अगाडि भने, “आज हिंसा ढोकाभित्र मात्र छैन, मोबाइलको स्क्रिनमा पनि छ। प्रविधिको दुरुपयोग बन्द गरौं, साइबर हिंसा गर्नेहरूलाई कानुनी कठघरामा ल्याऔं।” लैंगिक हिंसा कुनै एक घरको समस्या नभएर सिङ्गो समाजको कलंक भएको भन्दै आचार्यले यस्तो किसिमको कलंक मेटाउन जलजला गाउँपालिका दृढ रहेको बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी जमुना आचार्यले लैंगिक हिंसाका विभिन्न प्रकार, जोखिम तथा रोकथामका उपायहरू र महिला सशक्तीकरणका प्रभावकारी माध्यमहरूबारे विस्तृत अभिमुखीकरण गरिन्। यसैगरी प्रशासन प्रमुख हरिकृष्ण आचार्य, कार्यपालिका सदस्य भीमसेन बराइली र बिमला बरुवालले शुभकामना मन्तव्य राख्दै १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि, वर्तमान सान्दर्भिकता र यसको सफलताका लागि स्थानीय तहको भूमिकाबारे प्रकाश पारे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बिन्दु आचार्यले आगामी १६ दिनसम्म गाउँपालिकाभर विभिन्न सचेतना तथा सशक्तीकरण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै भनिन्। “यो १६ दिने अभियान हाम्रो सुरुवात मात्र हो। अब हरेक महिना, हरेक वडामा सचेतना र सशक्तीकरणका कार्यक्रम निरन्तर चल्नेछन्।”

“हामीले आजको कार्यक्रममा प्रविधिको दुरुपयोगबाट हुने साइबर हिंसालाई पनि मुख्य एजेन्डा बनायौं। महिलाहरू अब डराएर होइन, डिजिटल साक्षर भएर अगाडि बढ्नुपर्छ।” आचार्यले भनिन् ,“हिंसा सहनु अपराध हो, हिंसा लुकाउनु झन् ठूलो अपराध हो। हाम्रो शाखाको ढोका २४ सै घण्टा पीडितका लागि खुला छ, कुनै पनि महिलाले एक्लै लड्नु पर्दैन।”

जलजला गाउँपालिकाले लैंगिक हिंसा न्यूनीकरणमा देखाएको सक्रियता प्रशंसनीय रहेको भन्दै सहभागीहरूले अभियानलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष ठाकुर रेग्मी, लैसस सदस्य लक्ष्मी हमाल, मिलनचोक र बेनी प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

Skip This
Skip This
Logo