काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सनसनी प्रदर्शन गर्दै आएको विराटनगर किंग्सको जितमा पूर्णविराम लागेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एकमात्र खेलमा विराटनगर चितवन राइनोजसँग ४८ रनले स्तब्ध खएको हो ।
विराटनगरले यसअघि लगातार तीन खेल जितेर लिगलाई नै आफ्नो कब्जामा राखेको थियो । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै एनपीएल इतिहासकै सर्वाधिक २२१ रन बनाएको विराटनगरले दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्यो । त्यस्तै तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले स्तब्ध पारेको थियो ।
यता चितवनको भने यो दोस्रो जित हो । सिजनको सुरुवातमै कर्णाली याक्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।
चितवनले दिएको १७५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रन बनाउँदै अलआउट भएकाे हाे । विराटनगर किंग्सको सुरुवात निकै खराब रह्यो। शीर्ष क्रमका ब्याट्सम्यानहरू खासै जम्न सकेनन्।
नवाैं नंबरमा आएका विदेशी खेलाडी मर्चेन्ट डी ल्याङ्गेले मात्र ३९ रनको महत्त्वपूर्ण योगदान दिए पनि उनले अन्य ब्याट्सम्यानबाट साथ पाउन सकेनन्। प्रतिश जिसीले ३० रन जाेडे । स्याम हेज्लेटले २२ रनको आक्रामक पाली खेले पनि टिमलाई ठूलो स्कोरतर्फ डोर्याउन सकेनन्।
यस खेलमा चितवनका बलरहरू हावी भए। विशेषगरी, रणजित कुमारले ५ विकेट लिए । कमल ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको थियाे । चितवनको सुरुवात मध्यम रहे पनि मध्यक्रममा रवि बोपाराको शानदार प्रदर्शनले टोलीलाई उच्च स्कोरतर्फ डोर्यायो। बोपाराले मात्र ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ६५ रनको विष्फोटक अविजित इनिङ खेले।
साथै सैफ जैबले ३० बलमा ३२ रन जोड्दै बोपारालाई राम्रो साथ दिए। देव खनालले २२ बलमा २८ रनको योगदान दिए।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले समान २/२ विकेट लिए भने शुभम् रन्जानेले १ विकेट लिए।































प्रतिक्रिया